चार महिनामै एक हजार बढी विद्युतीय गाडी आयात, १०० किलोवाटसम्मको मात्रै ९९० वटा



काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमै एक हजार बढी विद्युतीय जीप, कार र भ्यान आयात गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा १ हजार १८ वटा विद्युतीय गाडी आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

विभागअनुसार एक हजार बढी गाडी आयातका लागि २ अर्ब ८६ करोड ३५ लाख ६२ हजार रुपैयाँ रकम बाहिरिएको छ । जसमा सरकारले आयातित सवारी साधनबाट ८५ करोड ६२ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले २ अर्ब ५२ लाख रुपैयाँको ६७३ वटा मात्रै विद्युतीय गाडी आयात गरेको थियो ।

चार महिनाको अवधिमा नेपालले २ अर्ब ७३ करोड १० लाख ५८ हजार रुपैयाँको १०० किलोवाटसम्मको जीप, कार र भ्यान मात्रै ९९० वटा आयात गरेको छ । त्यस्तै, १०० किलोवाटदेखि २०० किलोवाटसम्मको ११ करोड ३८ लाख ७० हजार रुपैयाँको २५ वटा र २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको १ करोड ८६ लाख ३४ हजार रुपैयाँको ३ वटा विद्युतीय गाडी आयात गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको विद्युतीय गाडीको अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ । यसअघि विद्युतीय गाडीमा अन्तशुल्क लाग्ने व्यवस्था थिएन । तर, यो वर्षको बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले अन्तशुल्क र भन्सार करमा वृद्धि गरेको घोषणा गरेका छन् । जसले गर्दा १०० किलोवाटमाथिको जीप, कार र भ्यान आयातमा निकै प्रभाव परेको छ ।

चालु आर्थिक वर्षमा १०० किलोवाटभन्दा माथिको सवारी साधनमा आकर्षण कम देखिएको छ । बढाइएको अन्तशुल्क र भन्सार कर वृद्धिले गर्दा १०० किलोवाट माथिको विद्युतीय सवारी साधनको मूल्य निकै महंगो हुने भएकाले अटोमोबाइल कम्पनीहरुले आयात गर्न नै छाडेका छन् । विगतको दिनका सयभन्दा बढी संख्यामा आयात भइरहेको विद्युतीय सवारी साधन अहिले बजेटका कारण ह्वात्तै घटेको छ ।

गत वर्ष १०० किलोवाटसम्मको भन्दा १०० किलोवाटभन्दा बढीको विद्युतीय गाडी आयात भएको थियो । तर, यो वर्ष अन्तशुल्क र भन्सार शुल्क बढाएसँगै १०० किलोवाटभन्दा माथिको विद्युतीय सवारी साधन आयात गर्न निकै कठिन अवस्था सिर्जना भएको छ ।

त्यस्तै, उच्च आयातका कारण तरलता अभाव भएको भन्दै सरकारले विगत लामो समयदेखि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको छ । सरकारले हालसम्म उक्त निर्णय कायमै राखेको छ ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा कडाइ अर्थात् प्रतिबन्ध गरेसँगै विद्युतीय सवारी साधन पैठरी उच्च भएको विभागले जनाएको छ । त्यस्तै, विभागको तथ्याङ्कले पनि विद्युतीय सवारी साधन आयात बढेको स्पष्ट पार्छ ।

नेपालले चार महिनाको अवधिमा चीनबाट ३८ करोड ६७ लाख रुपैयाँको १७० वटा जीप, कार र भ्यान आयात गरेको छ । त्यसैगरी, भारतबाट १ अर्ब ८५ करोड ४२ लाख रुपैयाँको ६८९ वटा, दक्षिण कोरियाबाट ५९ करोड ९८ लाख रुपैयाँको १५५ वटा र अमेरिकाबाट २ करोड २७ लाख रुपैयाँको ४ वटा विद्युतीय जीप, कार र भ्यान आयात गरेको छ ।


क्लिकमान्डु