कालीकोटबाट ‘ह्याट्रिक’ गर्ने शाहीको राजनीतिक यात्रा



काठमाडौं । विकास र समृद्धिको यात्रामा पछाडि परेको कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रतिस्पर्धाको राजनीतिमा तेस्रो जीत निकाल्दै सङ्घीय सांसदमा चुनिएका छन् ।

नेकपा(माओवादी केन्द्र)का प्रभावशाली युवा नेता शाहीले चलचल्तीको भाषामा ‘ह्याट्रिक’ गरेका छन् ।
उनी २०७० मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै, २०७४ सालमा कालीकोटबाट प्रदेशसभा सदस्यका रुपमा निर्वाचित भई कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री बन्ने अवसर पाए ।

यसपटक यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उनले वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट उम्मेदवार भई फराकिलो जीत हासिल गरेका छन् ।

पूर्वऊर्जामन्त्रीसमेत रहेका शाही तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धको शुरुआती कालदेखि नेता हुन् ।

तत्कालीन माओवादीको जनमुक्ति सेनाको डिभिजन कमाण्डरसमेत रहेका नेता शाही कालीकोटमा मात्रै नभई समग्र कर्णाली प्रदेशमै स्थापित नेता हुन् ।

विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा उनले नेकपा(एमाले)का कुर्मराज शाहीलाई पराजित गरे ।
विसं २०७४ मा भएको निर्वाचनमा उनले प्रदेशसभा सदस्यमा कांग्रेसका कालिबहादुर सहकारीलाई दुई हजार आठ सय मतले पराजित गरे ।
मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेता शाहीले कूल २४ हजार चार सय ३७ मत प्राप्त गरी विजयी बने ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाही नेशनलले १६ हजार दुई सय ३० मत प्राप्त गरे ।

कर्णाली प्रदेशको पनि पछाडि परेको कालीकोटमा लगातार उनको विजयले मुलुकको राष्ट्रिय राजनीतिमा कर्णालीको सबल नेताका रुपमा शाहीलाई स्थापित गरिदिएको छ । त्यसो त कालीकोटबाट लगातार जीत निकाल्ने सीमित नेतामध्ये शाहीको नामसमेत अङ्कित भएको छ ।

जानकारका अनुसार यसअघि पञ्चायत कालमा रास्कोटका धर्मदत्त उपाध्याय लगातार तीन पटक सांसद भएका थिए । विसं २०४६ को आन्दोलनपछि स्थापना भएको बहुदलीय प्रजातन्त्रसमेतमा कुनै पनि नेताले लगातार विजयी हुने अवसर पाएका थिएनन् ।

कालीकोटको इतिहासमा २०४८ सालमा नेपाली कांग्रेसका तिलक न्यौपाने, २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा एमालेका यज्ञराज न्यौपाने, २०५६ मा एमालेकै प्रेमबहादुर सिंह र २०६४ मा गणतन्त्र स्थापनापछि पहिलो पटक भएको संविधानसभाको निर्वाचनमा माओवादीका खड्गबहादुर विश्वकर्माले जीतको नाम लेखाएका थिए ।

माओवादीका पोलिटब्यूरो सदस्य शाही कालिकोटको पचालझरना गाउँपालिका नौ साविकको नानीकोट गाविस–८ मा २०३३ साल माघ १५ गते बुवा लालबहादुर शाही र आमा रणकौंडा शाहीको दोस्रो सन्तानका रुपमा जन्मिएका थिए ।
उनले २०४८ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र)को सदस्यता लिएका थिए । माओवादी जनयुद्धमा उनले पार्टीको सङ्गठन र छापामारमा समानान्तर भूमिका निर्वाह गरेका थिए ।

नेता शाहीले सेना समायोजनको क्रममा राजनीतितर्फ लाग्ने निर्णय गरे ।
संविधानसभा सदस्यका रुपमा उनले तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने मध्येका एक हुन् । संविधानसभा सदस्य एवम् ऊर्जामन्त्री र कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री शाहीले पछाडि परेको कालीकोटलाई विकास र समृद्धिको यात्रा अगाडि बढाउनुपर्ने चुनौती छ ।


क्लिकमान्डु