काठमाडौंले रुचाएन माओवादीः काठमाडौं २ र ७ मा घण्टीका सोविता गौतम र गणेश पराजुली बिजयी
काठमाडौं । काठमाडौंका दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)का उम्मेद्वारले चुनाव जितेका छन् । क्षेत्र नंं २ मा सोविता गौतम र ७ मा गणेश पराजुली बिजयी भएका छन् ।
उनीहरु बिजयी भएको निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ ।
गौतम २७ वर्षिया युवती हुन् । निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार गौतम आफ्ना निकटतम प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी हुन्। गौतमले १५२२९ मत पाएकी छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गरेका छन्। उनीहरूको मतान्तर ३६७४ छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल ११४१४ मत ल्याएर तेस्रो स्थानमा छन्।
गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा छिन्। घर्तीले जम्मा ९४४८ मत ल्याएकी छन्।
त्यस्तै, क्षेत्र नम्बर ७ मा घण्टीका पराजुली ८७४३ मत ल्याएर विजयी भएका छन्। उनी आफ्ना निकट प्रतिस्पर्धीभन्दा झन्डै दुई हजार मतले अगाडि छन्।
दोस्रो स्थानमा रहेको नेकपा एमालेका श्यामकुमार घिमिरेले ६८०० मत ल्याएका छन्। यहाँ गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराई तेस्रो स्थानमा छिन्। उनले ६०६३ मत पाएकी छन्।
क्षेत्र नं. २ बाट चुनाव हार्ने घर्ती पूर्वसभामुख हुन् भने पूर्वअर्थमन्त्री समेत रहेका माओवादीका प्रभावशाली नेता वर्षमान पुनकी श्रीमति हुन् । त्यस्तै, ७ बाट चुनाब हार्ने मानुससी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी हुन् ।