भावी प्रधानमन्त्री बन्ने घोषणा गरेका गगन थापाको काठमाडौं ४ मा शानदार ‘ह्याट्रिक’



काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापाले शानदार बिजय हासिल गरेका छन् । थापाले २१ हजार ३ सय २ मत ल्याएर बिजयी भएका हुन् । योसहित थापाले काठमाडौं ४ बाट चौथो पटक बिजयी भई ‘ह्याट्रिक’ गरेका हुन् ।

थापाका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गरेका छन् । थापाको भन्दा भट्टराईको ७ हजार४ सय ४७ मत कम हो । उक्त निर्वाचन क्षेत्रमा ४५ हजार ५ सय ३ मत खसेको थियो ।

२०७३ सालमा स्वास्थ्यमन्त्री भइसकेका थापाले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा आफूलाई प्रस्तुत गरेका छन् । उनले आगामी कांग्रेस संसदीय दलको नेतामा चुनाव लड्ने र ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा दावी गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

२०४६ सालको जनआन्दोलनमा विद्यार्थी अवस्थामै राजनीतिमा सक्रिय सहभागिता जनाएका उनी २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भएका थिए । त्रिचन्द्र क्याम्पसमा २०५३ सालमा स्ववियु सचिव र २०५५ मा सभापतिमा निर्वाचित भएका थापा त्रिभुवन विश्वविद्यालय सिनेट सदस्यसमेत रहेका थिए ।

२०५७ मा नेविसंघ केन्द्रीय उपाध्यक्ष बन्दै २०५९ सालमा नेविसंघको महामन्त्रीको पद सम्हाले थापा २०६८ मा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०७२ सालमा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका ०७८ सालमा कांग्रेस महामन्त्रीमा निर्वाचित भएका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बन्दा थापा ३१ वर्षका थिए । त्यसपछि लगातार काठमाडौं ४ मा प्रत्यक्ष चुनाव जित्दै आएका छन् । यो सहित राजन भट्टराईलाई थापाले २ पटक पराजित गरे । भट्टराई केपी ओली प्रधानमन्त्री बन्दा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार बनेका थिए ।


क्लिकमान्डु