धितोपत्र बोर्डको दबाबपछि लगानीकर्ता संघको धम्कीः बजार बिस्तारका काम रोकिए कडा प्रतिबाद गर्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको संघ संगठनलाई बोलाएर पटक-पटक दबाब दिएपछि पुँजीबजार बिस्तारका काम रोकिए कडा प्रतिबाद गर्ने भन्दै संयुक्त वक्तव्य जारी गरेका छन् ।

धितोपत्र बोर्डको निर्याणका विरुद्ध सर्वोच्च अदालतमा पटक पटक रिट निवेदन दायर भएपछि बोर्डले लगानीकर्ताका संगठनलाई बोलाएर विज्ञप्ति जारी गर्न दबाब दिएको थियो । त्यसपछि लगानीकर्ताका विभिन्न ९ वटा संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो धम्की दिएका हुन् ।

जारी गरेको संयुक्त वक्तव्यमा नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड तथा नेपाल सरकारका अन्य निकायहरुद्धारा चालिएका कदमहरुमा केही स्वार्थी समुहबाट बाधा सिर्जना गर्ने र रोक्ने काम भएमा आम नेपाली लगानीकर्ताहरुको तर्फबाट फेरी सडकमा उत्रिने चेतावनी दिएका छन् ।

‘नेपालको पुँजी बजारलाई आधुनिक हुनै नदिने र सिमित ब्यक्ति वा संस्थाको पकडमा मात्र राखिरहन खोज्ने संविधान र प्रतिस्पर्धा कानून विपरित प्रवृत्तिले ४० खर्ब भन्दा बढी पुँजीकरण पुगेको बजार आज २८ खर्बमा झरेको र लाखौं लगानीकर्तालाई पलायन हुन बाध्य पारेको अवस्था छ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘हुनै लागेका सुधार र बिस्तारका काम रोकिए झन ठूलो क्षति नेपालको पुँजी बजारले भोग्नुपर्ने र बर्षौ पछाडि धकेलिने तर्फ सम्बन्धित सरोकारवालाहरुलाई सतर्क गराउँछौ ।’

पुँजी बजार जस्तो संबेदनशील क्षेत्रलाई खेलाँचीको रुपमा नलिई विगतमा भएका विभिन्न आन्दोलनमा राखिएका मागहरु तथा सुझावहरुका साथसाथै ५८ बुंदे सुझाव र १९ बुंदे सहमति तत्काल पूर्ण रुपमा कार्यान्वयन गर्न एवं कुनै बाधा विरोध सिर्जना नगरी आम सर्वसाधारण लगानीकर्ताको लगानीको सुरक्षा गर्न विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु