रवि नेतृत्वको पार्टीको घोषणापत्र: ललिता निवासदेखि यति र ओम्नी काण्डबारे फाइल खोल्ने



काठमाडौं । रवि लामिछाने नेतृत्वको पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ (रास्वपा)ले अनियमितता र भ्रष्टाचारका फाइलहरु खोल्ने घोषणा गरेको छ ।

मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि बिहीबार सार्वजनिक गरेको वाचापत्रमा रास्वपाले ललिता निवासदेखि यति र ओम्नी काण्डजस्ता विभिन्न अनियमितता र भ्रष्टाचारसम्बन्धी फाइलहरु खोल्ने घोषणा गरेको हो ।

पार्टीले आफ्नो वाचापत्रमार्फत ललिता निवास सरकारी जग्गा किनबेच काण्ड, वाइडबडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नी काण्ड, ‘बेटी पढाउ, बेटी बचाउँ’ का लागि साइकल खरिद काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्ड तथा बुढीगण्डकी जलविद्युत आयोजना काण्ड लगायतका अनियमितता र भ्रष्टाचारसँग सम्बन्धित विषयको फाइल खोल्ने घोषणा गरेको हो ।

आफूहरुले भ्रष्टाचार नगर्ने र गर्नेलाई नछोड्ने बताउँदै ‘सूचक संरक्षण ऐन’ बनाउने तथा अख्तियार अन्तर्गत ‘एन्टि करप्सन पुलिस’को व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणा पत्रमा भनिएको छ, ‘भ्रष्टाचारका मुख्य अपराधीसँगै मतियारहरुलाई समेत समान कारबाही हुनेछ । भ्रष्टाचार सम्बन्धि सूचना दिने सुचकलाई प्रोत्साहक तथा संरषण गर्न सुचक संरक्षण ऐन बनाइ लागु गरिनेछ । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गत विशिष्ट एन्टि करप्सन पुलिस को व्यवस्था गरिनेछ ।’


क्लिकमान्डु