राष्ट्रिय झन्डासहितको पानीजहाज र रेल चलाउने एमाले प्रतिवद्धता



काठमाडौं । नेकपा एमालेले नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले छिमेकी मित्रराष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानीजहाज सञ्चालनमा ल्याइने प्रतिवद्धता जनाएको हो ।

त्यस्तै रेल सञ्चालनलाई पनि एमालेले प्राथमिकता दिएको छ । ‘निर्माणाधीन पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ, निजगढ बुटवल खण्डको निर्माण कार्य अघि बढाइनेछ, बाँकी भागको जग्गा अधिग्रहण कार्य गरिने छ’ एमाले घोषणापत्रमा भनिएको छ, ‘रसुवागढी–काठमाडौँ रेलमार्ग र वीरगञ्ज–काठमाडौँ रेलमार्गको निर्माण प्रक्रिया सुरु गरिने छ । सबै महानगरहरूमा काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केवलकार एवं पड वे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनको लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गरिने छ ।’

एमालेले गङ्गाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने घोषणापत्रमा उल्लेख गरेको छ । ‘छिमेकी मित्रराष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानीजहाज सञ्चालनमा ल्याइनेछ । नेपालका प्रमुख नदी हुँदै गङ्गाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने छ’ घोषणापत्रमा भनिएको छ ।


क्लिकमान्डु