माओवादी घोषणापत्र: ५ वर्षमा गरिबी आधा घटाउने, ‘राज्य सुरक्षा कार्ड’ वितरण गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी पाँच वर्षमा हाल कायम रहेको गरिबी कम्तिमा आधाले घटाइने प्रतिबद्धता व्यक्त गरेको छ ।

मंसिर ४ गतेको चुनावका लागि सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादीले मुलुकमा जनसंख्याको ठूलै हिस्सा अझ पनि गरिबीको रेखामुनि रहेको र गरिब घरपरिवारले दयनीय जीवन गुजारा गर्नुपरिरहेको अवस्था रहेको उल्लेख गरेको छ ।
समाजमा गरिबी र पछौटेपन कायम रहँदासम्म सीमित वर्गमात्र लाभान्वित हुने विकास र समृद्धिको कुनै अर्थ नरहने माओवादीको ठहर छ ।

‘यस अवस्थामा क्रमभंग गर्न आगामी पाँच वर्षमा हाल कायम रहेको गरिबी कम्तीमा आधाले घटाइने छ’माओवादीको प्रतिवद्धतापत्रमा भनिएको छ ।

त्यसका लागि गरिबीको रेखामुनि रहेका सबै नागरिकलाई एक वर्षभित्र ‘राज्य सुरक्षा कार्ड’ वितरण गरिने र कार्ड प्राप्त गरेका घरपरिवारलाई आधारभूत स्वास्थ्य र शिक्षा निःशुल्क तथा अत्यावश्यकीय वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराइने माओवादीले प्रतिवद्धता व्यक्त गरेको छ ।

स्थानीय तहसँगको समन्वयमा वन, नदी, ताल र नदीको तटीय क्षेत्र साथै अन्य सार्वजनिक बाँझो जमिनमा कृषि तथा पशुपन्छीपालन व्यवसाय सञ्चालन गर्न विपन्न घरपरिवालाई दश वर्षसम्मको लागि निश्चित परिमाणको जमिन करार गरी उपयोग गर्न दिइने माओवादीले जनाएको छ ।

गरिबीको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न ५ लाख रुपैयाँसम्मको बिउ पुँजी बिना धितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने माओवादीले जनाएको छ ।

यस अनुसार सञ्चालित व्यवसायको बिमा गर्दा प्रिमियममा ९० प्रतिशत अनुदान दिने व्यवस्था गरिने प्रतिवद्धता माओवादीले जनाएको छ ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब किसानहरूलाई सामूहिक प्रणालीमा नगदेबाली,पशुपन्छीपालन तथा जडीबुटी खेती गर्न पूर्वाधार तथा कृषि आगतका लागि अनुदानको व्यवस्था गरिने माओवादीले जनाएको छ ।


क्लिकमान्डु