भारतीय मूलका ऋषि सुनक बेलायतका प्रधानमन्त्री



एजेन्सी । भारतीय मूलका ऋषि सुनक बेलायतका प्रधानमन्त्री बन्ने भएका छन् ।

उनी कन्जर्वेटिव पार्टीका नेता चुनिएका छन् । बेलायतमा पहिलोपटक एशियाली मूलका व्यक्ति प्रधानमन्त्री बन्न लागका हुन् ।

यसै वर्ष पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक यसपटक विजयी भएका हुन्।

बेलायतले ठूला आर्थिक चुनौतीहरूको सामना गरिरहेको समयमा सुनकले कार्यभार सम्हाल्ने भएका छन् ।

पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन् ।

बेलायत अहिले दशकौँमा सिर्जना भएको सबैभन्दा उच्च महँगी र बढ्न नसकिरहेको आर्थिक वृद्धिसँग जुझिरहेको छ ।

उसको अर्थतन्त्र युक्रेन युद्ध, ब्रेक्जिट र कोभिड महामारीका कारण कमजोर बनेको छ, तर ती समस्यालाई सरकारको अस्थिरताले थप कमजोर बनाएको छ ।

विपक्षी दलहरूले नयाँ नेतासँग कार्यादेश नहुने भन्दै आमनिर्वाचनको माग गरेका छन् । फेब्रुअरी २०२० मा सुनक बेलायती अर्थमन्त्री बनेका थिए ।

त्यसको केही सातामै उनले सामना गर्नुपरेका महामारी र लकडाउनका चुनौतीहरू दोस्रो विश्वयुद्धपछि कुनै चान्सलरले झेलेकोमध्ये सबभन्दा ठूला थिए ।


क्लिकमान्डु