महिलाको लैंगिक बजेटमा पुरुषको हालीमुहाली, महिला चैं बेखबर
पुष्प दुलाल
प्रकाशित मिति : December 8, 2016
धादिङ । सामाजिक कार्यकर्ता बन्नुभएकी नौबिसे गाविसकी रुपा भट्ट गाउँ विकास समितिको कार्यालयको नजिकै बस्छिन् तर उनलाई आफ्नै गाविसको बजेटमा महिलाका लागि छुट्याइएको रकमबारे कुनै जानकारी छैन ।
मैदी गाविस निवासी गौरी भट्टलाई गाविसमा महिलाका लागि बजेट छुट्याइन्छ भन्ने थाहा थियो । उनले त्यसलाई उपयोगमा ल्याउन अन्य महिलालाई भेला गरेर सिलाइ बुनाइसम्बन्धी कामका लागि एउटा समिति गठन गरे ।
सो समितिले गाविसमा महिलाका नाममा आएको बजेटबाट आफूहरुलाई बजेट दिन माग गरेपछि गाविस सचिवले सर्वदलीय बैठकमा छलफल गराए । तर राजनीतिक दलले आफ्नो पार्टीका कार्यकर्ता समितिमा नपरेको भन्दै आपत्ति जनाएपछि रकम दिन मानेनन् ।
खरी गाविसकी लक्ष्मी श्रेष्ठ गाविस कार्यालयमा महिलाको बजेट के कति छ भनेर सोध्न गइन् । बजेटको बारेमा जानकारी पाउनुको सट्टा “घाँस काट्न नगएर किन आएको ?” भन्ने जवाफ मात्र उनले पाइन् ।
महिला कार्यकर्ताहरुको भेलामा अधिकांश गाविसका महिलाले महिलाका नाम बजेट व्यवस्था भएकोबारे जानकारी नभएको र भएकाले पनि बजेटको सदुपयोग गर्न नपाएको गुनासो हालै जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युवराज अर्यालसामु राखेका थिए ।
सहयात्री समाजले आयोजना गरेका लैङ्गिक बजेटसम्बन्धी छलफल कार्यक्रममा अधिकांश महिलाले महिला लैङ्गिक बजेटमा पुरुषको हालीमुहाली रहेको गुनासो गरेका थिए ।
दश गाविसमा महिला लक्ष्यित बजेटबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सहयात्री समाजका ज्ञानु कँडेलले सरकारले तोकेअनुसार १० प्रतिशत बजेट नछुट्याइएको, छुट्याइएको बजेट पनि फ्रिज गरिएको, महिलालाई प्रत्यक्ष फाइदा पुग्ने योजनामा खर्च नगरी अन्यत्र खर्च गरिएकोजस्ता तथ्य फेला परेको बताइन् ।
गाविसको जम्मा बजेटमध्ये १० प्रतिशत छुट्याउनुपर्ने अनिवार्य प्रावधान भए पनि जम्मा २५ लाख रुपैयाँमात्र छुट्याइएको पाइएको छ र यो रकम अत्यन्तै न्यून हो । रासस
पुष्प दुलाल