रणनीतिक सडक कालोपत्रका लागि पूर्वाधारको काम शुरु



बागलुङ । निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत बागलुङ बजारदेखि सिँगानासम्मको सडक कालोपत्रका लागि पूर्वाधारको काम शुरु भएको छ ।

बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिँगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रेका लागि निर्माण व्यवसायी छनोट भएर बोक्सेखाल्टाबाट सडक चौडा पार्ने काम शुरु भएको छ ।

साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्र गर्नेगरी अहिले बोक्सेखाल्टाबाट सडक चोडा पार्ने काम शुरु भएको हो ।

सडकको पूर्वाधार ग्याबिन, कर्ल्भट, पर्खाल तथा नाली बनाउने गरी सडक चौडाको काम सुरु भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

अहिले सडक चौडा पार्न र सडक मिलाउनका लागि निर्माण व्यवसायीले दुई ठूला उपकरण परिचालन गरिसकेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इञ्जिनियर कृष्णबहादुर खड्काले बताए ।

तिहारपछि कामले अझै तीव्रता पाउने कार्यालयको भनाइ छ ।

'दसैँलगत्तै पूर्वाधारको काम सुरु भएको छ, अहिले सडक धमाधम चौडा पार्ने काम भइरहेको छ, दसैँअघि मात्रै निर्माण व्यवसायीले समेत अन्तिम सर्भे सम्पन्न गरेका थिए', खड्काले भने, 'सडक साढे दुई वर्षमा कालोपत्र गरिसक्ने गरी पहिलो आर्थिक वर्षमा सडक चौडा पार्ने काम सम्पन्न गरिनेछ भने आगमी वर्षका कालोपत्रको काम थालिनेछ ।'

बागलुङ बजार हुँदै सिँगाना, बरेङ, शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्र भइसक्ने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । 

उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुदेखि १० किलोमिटर सडक कालोपत्र गरिनेछ । लामो समय बजेट अभावले कालोपत्रका लागि ठेक्कामा जान नसकेको सडक विभिन्न पहल र प्रयासका बाबजुद हाल आएर बाक्से खाल्टादेखि कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माणको काम थालिएको हो ।  

ठेक्काअन्तर्गत बागलुङ बजारदेखि बोक्सेसम्म सडक कालोपत्र भइसकेका कारण बोक्सेबाट बौडैचौरको आलडाँडासम्म सडक कालोपत्र हुनेगरी कार्य आरम्भ भएको हो । 

निर्वाचन क्षेत्र नं १ रणनीतिक सडक सोही क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदहरुको सिफारिसमा छनोट भएको थियो । अहिले सडक कालोपत्र नहुँदा सिँगाना हुँदै बरेङ शान्तिपुर जाने सडकमा यात्रुले सास्ती खेप्दै आएका छन् ।


क्लिकमान्डु