गठबन्धनका कारण कोहीपनि राष्ट्रको बिरुद्धमा जान सक्दैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोहीपनि राष्ट्र र राष्ट्रिय एकताको बिरुद्धमा जान नसक्ने बताए।

सोमबार काठमाडौँमा आयोजित सत्तारुढ गठबन्धनको वागमती प्रदेश स्तरिय संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका कारण कोहीपनि राष्ट्र र राष्ट्रिय एकताको खिलाफमा जान नसक्ने बताए । उनले कसैले प्रजातन्त्र बिरोधी कार्य गर्न पनि नसक्ने बताए । उनले गठबन्धन कायम रहेमा समावेशिताको खिलापमा पनि कोही जान नसक्ने बताए ।

प्रधानमन्त्री देउवाले अहिले संक्रमणकालिन समय भएकाले आपसमा झगडा गर्नु नहुने बताए । उनले गठबन्धनलाई टिकाएर देश विकासको बाटोमा जानुपर्ने बताए ।

उनले गठबन्धनका कारण सबैले टिकट पाउन नसकेको भन्दै सबैलाई न्यायपूर्ण तरिकाले चुनावमा उठाउने प्रयास गर्ने बताए ।

प्रधानमन्त्री देउवाको भनाइ जस्ताको त्यस्तै

गठबन्धनको कारणले सबैले टिकट पाउँदैनन् । यो हाम्रो पार्टीमा पनि, हरेक पार्टीमा त्यही समस्या होला । गठबन्धन छ चुनावी जितिहाल्छु टिकट चाहियो । त्यस्तो पनि छ अहिले । भोलिको दिनमा अझ यसलाई बढाउन सकिन्छ । भरसक म न्यायपूर्ण तरिकाले साथीहरुलाई चुनावमा उठाउने प्रयास गर्नेछु । हरेक पार्टीमा समस्या छ । तर अहिलेको बेला संक्रमणकाल हो । अहिलेको बेला झगडा गर्ने बेला होइन । अहिलेको बेला गठबन्धन टिकाउनु हो । अब देश विकासमा जाने हो । पिछडिएको वर्गदेखि सबैलाई समान न्याय, अधिकार दिने बेला आएको छ । यो भएको खण्डमा नेपाल सच्चा मानेमा अझैपनि जातिय विभेददेखि लिएर सबै विभेदहरुको समाधान भएर अगाडी बढ्ने छौँ । गठबन्धनका कारणले भोलिका दिनमा कसैले पनि प्रजातन्त्र बिरोधी कार्य गर्ने, नेपालमा प्रजातन्त्रको खिलाफमा कोही जानसक्ने छैनन् । राष्ट्रको खिलाफमा कोही जान सक्ने छैनन् । राष्ट्रिय एकताको खिलाफमा कोही जान सक्ने छैनन् । समावेशिताको खिलाफमा कोही जान सक्ने छैनन् । अत्यन्तै समावेशी, सुन्दर नेपाल बन्नेछ । यो गठबन्धन आवश्यकताले बनेको गठबन्धन हो । रहरले बनेको होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउनलाई गठबन्धन भएको होइन । अहिलेको आवश्यकताले बनेको हो । यो गठबन्धन अपरिहार्य थियो, छ र भोलिपनि रहनेछ । देशमा स्थायी शान्ति, कसैले खोस्न नसक्ने लोकतन्त्र, समावेशिता, कसैले हटाउन नसक्ने संविधान त्यसको रक्षा गरेर हामीले अगाडी बढेको खण्डमा हाम्रो देश सच्चा मानेमा अगाडी बढ्न सक्छ भन्ने लाग्छ मलाई ।


क्लिकमान्डु