भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नगर्ने कम्पनीलाई काठमाडौंबाट तीनभन्दा बढी उडान गर्न नदिइने



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने गरि काम गर्न निर्देशन दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सक्रिय बनेको छ ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि मुख्यसचिव शंकरदाश बैरागीको नेतृत्वमा परराष्ट्र सचिव, गृहसचिव, अर्थसचिव, स्वास्थ्य सचिव, श्रम सचिव र क्यानका महानिर्देशक सदस्य रहेको एक समिति गठन भएको छ ।

उक्त समितिलाई भैरहवाबाटै श्रम स्विकृति, स्वास्थ्य परिक्षण र भिषा सम्बन्धी काम सम्पन्न गर्ने मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ ।

जजिरा एयरवेजले भैरहवामा गरिरहेको दैनिक उडान बन्द भएको र कम्पनीले सातामा एउटा मात्रै उडान गर्ने समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले मुख्यसचिव बैरागीलाई विमानस्थल नियमित सञ्चालनका लागि सबै व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) बाट दैनिक ३ वटा भन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले भैरहवाबाट पनि एउटा उडान गर्नुपर्ने नियम बनाएको हो ।

क्यानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटा उडान नगर्ने कम्पनीलाई काठमाडौंबाट तीन वटा भन्दा बढी उडान गर्न नदिने गरि नियम बनाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आगामी नोभेम्बर १ तारिकदेखि भैरहवाबाट एउटा उडान नगर्ने कम्पनीको काठमाडौंमा दैनिक तीन वटा भन्दा बढी उडान सेड्युवल स्वीकृत नहुने जानकारी दिए ।

‘टिआईएको ट्राफिक व्यवस्थापन र भैरहवा विमानस्थलमा ट्राफिक बढाउने उद्देश्यले प्राधिकरणले यो नियम ल्याएको हो,’ निरौलाले क्लिकमाण्डूसँग भने,‘ भैरहवाबाट एउटा उडान नगर्ने कम्पनीको काठमाडौंबाट तीन वटा भन्दा बढी उडान अनुमति स्वीकृत हुँदैन् ।’

प्राधिकरणले नोभेम्बर १ देखि यो नियम लागु गरेमा नेपाल वायु सेवा निगम, हिमालयन एयरलाइन्स, कतार एयरवेज र अरेयिबा एयरवेजले भैरहवाबाट एउटा उडान गर्नु पर्नेछ ।

यी चारवटै वायुसेवा कम्पनीले टिआईएबाट दैनिक ३ वटाभन्दा बढी उडान गर्दै आएका छन् । प्राधिकरणको नियमअनुसार यी कम्पनीले भैरहवाबाट समेत उडान गर्ने योजना नबनाए काठमाडौंबाट तीन वटाभन्दा बढी उडान गर्न पाउने छैनन् ।


क्लिकमान्डु