प्राधिकरणले कात्तिक मसान्तसम्म ५१ चार्जिङ स्टेसन निर्माण गरिसक्ने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेका चार्जिङ स्टेसन कात्तिक मसान्तसम्म पुरा हुने भएका छन् ।

प्राधिकरणले हाल देशभर ५१ वटा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईकाअनुसार कुनै अवरोध नभएमा सातै प्रदेशमा निर्माण भइरहेका चार्जिङ स्टेसन कात्तिक मसान्तसम्म बनिसक्नेछन् ।

प्राधिकरणले विद्युतको उपलब्धतामा बृद्धि भएसँगै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । जसअन्तर्गत प्राधिकरणले २०७७ चैत ३१ गते चिनियाँ कम्पनी ‘वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड’सँग सम्झौता गरेर सातै प्रदेशका प्रमुख स्थानहरुमा चार्जिङ स्टेसन बनाउन थालेको छ ।

ठेक्का सम्झौताअनुसार सबै स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि ३७ करोड ७१ लाख ५५ हजार रुपैयाँ खर्च हुनेछ । ‘अहिले देशैभरका सबै स्थानमा चार्जिङ स्टेसनको काम भइरहेको छ’ प्रवक्ता भट्टराईले भने, ‘कुनै अवरोध नभएमा कात्तिक मसान्तसम्म सकिन्छ । ढिलो भएमा मंसिर महिना भरिमा देशभरका चार्जिङ स्टेसन निर्माणको काम सम्पन्न हुन्छ ।’

प्राधिकरणले निर्माण कम्पनीसँग गरेको ठेक्का सम्झौताअनुसार चार्जिङ स्टेसन संञ्चालनमा आएको पाँच वर्षसम्म मर्मतसम्भारको जिम्मा ठेकेदार कम्पनीले नै लिनुपर्ने छ । प्रत्येक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर हुने र स्टेसनकै लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली समेत हुने प्राधिकरणले जनाएको छ ।

प्रवक्ता भट्टराईकाअनुसार यी चार्जिङ स्टेसनहरु देशका प्रमुख राजमार्ग, बसपार्क र ठूला शहर तथा नगरपालिकाहरुमा निर्माण भइरहेका छन् । काठमाडौं उपत्यकामा सात वटा चार्जिङ स्टेसन रहनेछन् भने मेचीदेखि महाकालीसम्मका प्रमुख राजमार्गका चार्जिङ स्टेसनहरु रहेका छन् । प्राधिकरणकाअनुसार प्रदेश १ मा पाँच स्थानमा, प्रदेश २ मा सात स्थानमा, बागमती प्रदेशमा १३ स्थानमा, गण्डकी प्रदेशमा ६ स्थानमा, लुम्बिनी प्रदेशमा ८ स्थानमा, कर्णाली प्रदेशमा १ स्थानमा र सुदुरपश्चिम प्रदेशमा तीन स्थानमा चार्जिङ स्टेसनहरु निर्माण गरिएको छ ।

‘प्रमुख राजमार्गहरुमा चार्जिङ स्टेसन छन् । हरेक नगरपालिकामा पनि यसलाई निर्माण गरिएको छ’ उनले भने ‘कात्तिक मसान्तसम्ममा सबै स्थानमा चार्जिङ स्टेसन निर्माण भइसक्छ ।’


क्लिकमान्डु