कात्तिकमा ब्याजदर नबढ्ने, राष्ट्र बैंकले घटाउन पनि दिएन



काठमाडौं । नेपाल बैंकर्स संघले कात्तिकमा ब्याजदर नबढाउने निर्णय गरेको छ ।

असोजमा ब्याजदरका विषयमा कायम रहेको भद्र खारेज गरेको संघले आगामी महिना भने ब्याजदर यथावत राख्ने निर्णय गरेको छ ।

एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का अनुसार असोजमा २ देखि ४ प्रतिशतसम्म ब्याज बढाउँदा समेत निक्षेप वृद्धि नभएपछि संघले ब्याजदर वृद्धि नगर्ने सहमति गरेको हो ।

‘ब्याज बढाउँदा निक्षेप बढ्दैन् भन्ने थाहा थियो,’ एक बैंकका सीईओले भने, ‘ब्याजदरमा गत फागुनदेखि गर्दै आएको भद्र सहमति राष्ट्र बैंकको दबावमा तोड्ने निर्णय भएको थियो ।’

केही बैंकका सीईओले बिहीबारको बैठकमा ब्याजदर घटाउने गरि संघले निर्णय गर्नु पर्ने धारणा राखेका थिए । तर, राष्ट्र बैंकले तत्काल ब्याजदर नघटाउन निर्देशन दिएकाले बिहीबारको बैठकमा ब्याजदर परिर्वतन नगर्ने निर्णय भएको एक बैंकका सीईओले जानकारी दिए ।

‘ब्याज महँगो बनाएर कर्जाको माग घटाउनु पर्छ भन्ने राष्ट्र बैंकको प्रष्ट निर्देशन छ,’ उनले भने, ‘जसले गर्दा हामीले ब्याजदर घटाउन सकेनौं।’

कोरोना महामारीपछिको २ वर्षमा कर्जाको ब्याज सस्तो हुँदा उपभोगका लागि ऋण लिने क्रम बढ्यो । जसले गर्दा २ वर्षमा आयात करिब ४५ प्रतिशतले बढेको थियो । त्यसले गत आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चिति २ अर्ब २१ करोड डलरले घटेको थियो ।

आयात प्रतिबन्ध लगाउनुको साथै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा कडाई गरेको अवस्थामा समेत गत साउनमा विदेशी मुद्राको सञ्चिति १४ करोड डलरले घटेपछि नेपाल राष्ट्र बैंकले कर्जाको ब्याज महँगो बनाउन खोजेको छ । सस्तो ब्याजदरमा कर्जा दिँदा उच्च दरमा आयात बढ्ने र त्यसले विदेशी मुद्राको सञ्चिति घटाउँदै लैजाने राष्ट्र बैंकको चिन्ता छ ।


क्लिकमान्डु