सरकारसँग ५५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात, मंसिरसम्ममा १ लाख ३७ हजार मेट्रिक टन ल्याउने



काठमाडौं । सरकारसँग अहिले ५५ हजार मेट्रिक टन मौज्दात मल रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारीअनुसार साल्ट ट्रेडिङ्ग कर्पोरेसन र कृषि सामग्री कम्पनी गरेर ५५ हजार २९५ रासायनिक रहेको जनाएको छ ।

प्राप्त विवरणमा साल्ट ट्रेडिङ्ग कर्पोरेसन र कृषि सामग्री कम्पनी गरी ७ हजार ९८० मेट्रिक टन युरिया,  डिएपी ४२ हजार ९९३ मेट्रिक टन र ४ हजार ३२२ मेट्रिक टन पोटास मौज्दात रहेको छ । 

साल्ट ट्रेडिङ्ग कर्पोरेसनसँग २८ सय १८ मेट्रिक टन युरिया, २३ सय ९३ मेट्रिक टन डिएपी र १ सय ६७ मेट्रिक टन पोटास मल मौज्दात रहेको जनाएको छ ।

त्यसैगरी, कृषि सामग्री कम्पनीसँग ५ हजार ९८ मेट्रिक टन युरिया, ४० हजार ६ सय मेट्रिक टन डिएपी र ४ हजार १५४ मेट्रिक टन पोटास मौज्दात रहेको छ । 

त्यस्तै, मन्त्रालयले विभिन्न चरणमा आगामी मंसिरसम्ममा १ लाख ३७ हजार ५ सय मेट्रिक टन रासायनिक ल्याउने तयारी गरेको छ । मन्त्रालयअनुसार कृषि सामग्री कम्पनीतर्फ यस आर्थिक वर्षको जम्मा १ लाख मेट्रिक टन मलको ग्लोबल टेण्डर आह्वान भएकोमध्ये ३० हजार मेट्रिक टन युरिया प्राप्त भई धानको टप ड्रेसिङमा प्रयोग भएको छ । साथै, ४० हजार मेट्रिक टन डीएपी प्राप्त भइरहेको र बाँकी ३० हजार मेट्रिक टन युरिया विशाखापटनम् बन्दरगाहमा व्यागिङ्ग भई रेलवे रिसिप्ट क्रममा रहेको मन्त्रालयको भनाइ छ ।  

३० हजार मेट्रिक टन युरिया जीटुजी प्रावधानअन्तर्गत खरिदको लागि भारतलाई खरिद अर्डर  पठाएको र मल उपलब्ध गराउने भारतिय कम्पनी आरसीएफलाई अग्रिम भुक्तानीको लागि कार्य भईरहेको मन्त्रालयले जनाएको छ । सो मल कात्तिक मसान्तसम्ममा नेपाल आइपुग्ने मन्त्रालयको भनाइ छ ।  

त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेसनतर्फ ३० हजार मेट्रिक टन युरिया मल भारतको विशाखापटनम् बन्दरगाहमा नेपालको लागि लोडिङ्ग भइरहेको र असोज ३१ सम्ममा वीरगन्ज आई पुग्ने मन्त्रालयले जनाएको छ । 

२७ हजार ५ मेट्रिक टन युरिया मलको खरिद सम्झौता भइसकेको र सो मल मंसिर पहिलो सातासम्ममा नेपाल आइसक्ने मन्त्रालयको भनाइ छ । 

साथै, २० हजार मेट्रिक टन डीएपी मल खरिदको लागि टेण्डर भई खरिद सम्झौता हुने क्रममा रहेको र सो मल मंसिर अन्तिमसम्ममा नेपाल आई पुग्ने भएको छ ।


क्लिकमान्डु