नवरात्रमा धार्मिक गन्तव्य बन्यो काभ्रेपलाञ्चोक



काभ्रे । नेपालीको महान पर्व बडा दशैंको उल्लासमय वातावरण छ । दशैं मनाउन थातथलो फर्कनेको सङ्ख्या लस्करै सडकमा देखिन्छ । स्वदेश तथा विदेशमा रहेकाहरु घर फर्केकाले गाउँबस्तीमा दशैंको चहलपहल बढेको छ । सबै हिन्दू धर्मालम्बी गाउँबस्तीमा काम छाडेर नवरात्रमा गरिने धार्मिक क्रियाकलापमा व्यस्त छन् ।

पूजाअर्चनाका लागि मठमन्दिरमा भीडभाड ह्वात्तै बढेको छ । धार्मिक पर्यटनका दृष्टिकोणले गन्तव्य बनाइने काभ्रेपलाञ्चोकका तीन चर्चित शक्तिपीठमा घटस्थापनाका दिनदेखि नै भीड बढेको छ । दशैंको अवसरमा भक्तजन पलाञ्चोक भगवती, नाला भगवती र चण्डेश्वरी देवीको मन्दिर दर्शन गर्न जाने गरेका छन् । ती शक्तिपिठमा भक्तजनको घुइँचो लागिरहेको छ ।

काभ्रेपलाञ्चोकको नालामा रहेको उग्रचण्डी भगवती र काभ्रेपलाञ्चोकमै अवस्थित पलान्चोक भगवती काठमाडौँको विष्णुमती नदीतटस्थित शोभा भगवती र काठमाडौँकै नक्सालमा रहेको नक्साल भगवती दिदीबहिनी हुन् भन्ने जनश्रुति छ ।

पलाञ्चोक भगवती

पलाञ्चोक भगवतीको मन्दिर पाँचखाल नगरपालिका–८ पलाञ्चोकमा अवस्थित छ । उक्त मन्दिर लिच्छवीकालीन राजा मानदेवले आमाको सम्झनामा निर्माण गर्न लगाएको सिलालेखमा उल्लेख छ । नक्साल भगवती र शोभा भगवती र पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको बताइन्छ ।

शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतीको मूर्ति अद्धितीय मानिन्छ । सिलालेखअनुसार पलाञ्चोक भगवती मन्दिर संवत् चार सय २५ मा मानदेव प्रथमको शासनकालमा स्थापित भएको हो । पलाञ्चोक भगवती, नाला भगवती, नक्साल भगवती र शोभा भगवती चार दिदीबहिनीमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठूली दिदी हुन् भन्ने विश्वास छ ।

यस्तै पलाञ्चोक भगवतीको मूर्ति बनाउने मूर्तिकारको दाइने हात काटिएको कारण नक्साल भगवती देब्रे हातले बनाएका थिए भने देब्रे हात पनि काटिएपछि शोभा भगवती खुट्टाले बनाएको भन्ने अभिलेखमा पाइन्छ । मध्यकालमा यो स्थान एउटा प्रमुख गढको रूपमा परिचित थियो । पलाञ्चोक भगवतीलाई ‘विज्यश्वरी माता’को नामले पनि पुकारिन्छ ।

पलाञ्चोकमा रहेको मन्दिर स्थापना हुनुअघि त्यसको सिला नमोबुद्धको बुचाकोटमा रहेको थियो । बुचाकोटका स्थानीयवासीलाई सपनामा भगवती स्वयं उपस्थित भई ‘मलाई यहाँबाट उत्तरतिर लैजाउ’ भनेपछि भगवतीको सिलालाई बोकेर ल्याउँदा हालको भगवती स्थानमा बास बसेको थियो । भोलिपल्ट बिहानै पलाञ्चोक भगवतीलाई बोकेर लैजान लाग्दा उठाउनै नसकेपछि सोही स्थानमा स्थापना गरिएको किँवदन्ती छ ।

यस मन्दिरमा दशैंमा विशेष मेला लाग्ने गर्दछ । पछिल्ला केही वर्षदेखि नवरात्रअन्तर्गत प्रत्येक अष्ठमीका दिन राष्ट्रपतिले उक्त मन्दिरमा पूजाअर्चना गर्दै आउनुभएको छ । मन्दिरमा घटस्थापनाका दिनदेखि कोज्रागत पूर्णिमाका दिनसम्म नै भक्तजनको बाक्लो भीडभाड लाग्छ ।

नाला भगवती

काभ्रेपलाञ्चोकको पश्चिम–उत्तरतर्फको नाला प्राचीन एवं ऐतिहासिक महत्वको धार्मिकस्थल मानिन्छ । लिच्छविकालदेखि नै अस्तित्वमा रहेको उग्रचन्डी नाला भगवतीको मन्दिरको निर्माण भने मल्लकालमा नै भएको थियो । विसं २०७२ को बिनासकारी भूकम्पका कारण उक्त मन्दिर केही ढल्किएपछि हाल पुरातत्व विभागले उक्त मन्दिरको पुनःनिर्माण थालेको छ ।

मन्दिरको सिलालेखअनुसार उग्रचण्डी भगवती साक्षात रूपमा उत्पति भइ एउटा ठूलो ढुङ्गामाथि बसेर त्यहीँ अन्तरध्यान भएको र पछि तत्कालीन शासकले उक्त ढुङ्गालाई उग्रचण्डी भगवतीको प्रस्तर मूर्ति कुद्न लगाइ प्राणप्रतिष्ठा गरिएको बताइन्छ ।

नेपालमा प्रसिद्ध चार भगवती शक्तिपिठका रूपमा नालाको उग्रचण्डी भगवती, काठमाडौँको शोभा भगवती, काठमाडौँकै नक्सालस्थित नक्साल भगवती मन्दिर र काभ्रेपलाञ्चोकमै अवस्थित पलान्चोक भगवती रहेका छन् । मल्लकालीन राजा जय जगतप्रकाश मल्लको शासनकालमा उग्रचण्डी भगवतीको चारतले मन्दिर विभिन्न चरणमा निर्माण भएको सिलालेखमा उल्लेख छ ।

नेपाल संवत् ७६१ मा पहिलो तला, ७६३ मा दोस्रो तला र ७६७ मा तेस्रो एवं चौथो तला निर्माण भएको हो । यस्तै प्यागोडा शैलीमा निर्माण भएका उक्त मन्दिरको सिरान स्वर्णमय गजुरबाट सुशोभन गरिएको थियो । अवलोकनमा अत्यन्तै मनमोहक दृश्य, स्वर्णमय भगवतीका मूर्तिलाई पर्वमा पूजाआजा गर्ने, सहर परिक्रमा गराउने चलन नालाका आदिवासी श्रेष्ठ थरका ९किसी० नेवारले आरम्भ गरेका हुन् भन्ने किँवदन्ती छ ।

माता उग्रचन्डी भगवतीलाई प्रत्येक वर्ष विजयादशमीको नवरात्रीभर धुमधामका साथ पूजाआजा गरी ‘नरिवल बलि’ एवं पशुबलि दिने चलन रहँदै आएको छ । स्थानीयवासीले उग्रचण्डी भगवतीलाई ‘आमा’सरह आफ्नो अभिभावक तथा इष्टदेवीका रुपमा मान्दै आएका छन् । पुनःनिर्माणको चरणमा रहेको उक्त मन्दिर पुरातत्व विभागले पुरानैशैलीमा मजबुत तरिकाले दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

बनेपा चण्डेश्वरी

नेवार समुदायको बाक्लो बस्ती रहेको बनेपामा चण्डेश्वरी माताको मन्दिर छ । यो मन्दिर नेपाली मौलिक प्यागोडा शैलीमा तीन तले छ । धेरैजसो नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन् । यी देवीलाई सनातन हिन्दू धर्मालम्बी चण्डेश्वरी भनेर मान्ने गर्दछन् । महायान बौद्धमार्गी रक्षकको रूपमा मानिने एक जाती देवीको रूपमा पुज्ने गरेको पाइन्छ ।

यस मन्दिर पाँचौँ शताब्दीको हाराहारीमा बनाइएको विश्वास गरिने माटोका दुर्लभ मूर्ति छन् । यस मन्दिरकी देवीलाई ‘तन्त्र’मा विशेष महत्व दिइएको छ । चण्डेश्वरीलाई चामुण्डा, चण्डी, उग्रचण्डी तथा उग्रतारा आदिको नामले पनि मानिन्छ । मन्दिरको पश्चिमी भित्तामा भैरबको आकृति कोरिएको छ । यहाँ पनि दशैंको अवधिभर भक्तजनको धेरै नै भीड लाग्ने गर्दछ ।

रासस/ राजकुमार पराजुली


क्लिकमान्डु