विराटनगरमा प्रदेश पर्यटन सूचना केन्द्र स्थापना



विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) प्रदेश नम्बर १ ले पर्यटन सूचना केन्द्रको स्थापना गरेको छ । उसले विराटनगरस्थित आफ्नै कार्यालय बरगाछीमा पर्यटन सूचना केन्द्रको स्थापना गरेको हो ।

प्रदेश १ का प्रमुख तीन नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटक लक्षित गरेर विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको सो कार्यालयले जनाएको छ ।

सो केन्द्रमार्फत काँकडभिट्टा,पशुपतिनगर र विराटनगर तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूलाई प्रमुख गन्तव्यहरूको जानकारी दिने उद्देश्य राखिएको एफएनसीसीआईका केन्द्रीय सदस्य, प्रदेशका उपाध्यक्ष एवं प्रदेश १ सरकार मुख्यमन्त्रीका प्रमुख आर्थिक सल्लाहाकार राजेन्द्र राउतले जानकारी दिए ।

होटल, ट्राभल्स, सेवा प्रदायक निकायको सूचना विवरण अद्यावधिक राख्ने र पर्यटकको तथ्यांक राख्ने कार्यका लागि सूचना केन्द्र स्थापना गरिएको उनको भनाइ छ ।

यसअघि झापाको विर्तामोड र इलामको पशुपतिनगरमा सूचना केन्द्र स्थापना गरिएको थियो । मंगलबार विराटनगरमा सूचना केन्द्र सञ्चालनमा आएसँगै त्यससँगसम्बन्धी सम्पूर्ण विवरण विराटनगरमा नै केन्द्रित गरिने उनले बताए । तर विराटनगरको रानी नाकामा अझै पनि पर्यटन डेस्क स्थापना गरिएको छैन ।

पर्यटन सूचना केन्द्रको उद्घाटन गर्दै एफएनसिसिआई प्रदेश १ का उपाध्यक्ष एवं मुख्यमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार राउतले सूचना केन्द्रको स्थापनासँगै धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको प्रदेश १ को बारेमा जानकारी संकलन गरिने बताए ।

विराटनगरबाट प्रदेश १ का १४ वटै जिल्लामा हवाई उडान सञ्चालन गर्न संघीय सरकारसँग आग्रह गरिने र १६ वटा आन्तरिक विमानस्थल संचालन गर्न पहल उनले बताए ।

प्रदेश १ मा पर्यटकलाई आकर्षण गर्न आवश्यक पर्ने राम्रा होटलसहितका पर्यटन पूर्वाधारमा अझै कमी रहेको व्यवसायीको भनाई छ । महासंघको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तरगत सूचना केन्द्र स्थापना गरिएको राउतले जानकारी दिए ।

महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले विराटनगर विमानस्थलमा पनि इमिग्रेशनको व्यवस्था गर्न सके पर्यटकहरुलाई सहज हुने बताउनु भएको थियो । उहाँले पर्यटन क्षेत्रलाई राज्यले ठुलो आर्थिक स्रोतका रुपमा उपयोग गर्न नसकेको बताउनुभयो । प्रदेश १ मा सहासिक र धार्मिक पर्यटनको विकासको सम्भावना रहेकोले बढि ध्यान त्यसैमा दिन सरकारलाई आग्रह गरे ।।

पर्यटन दिवसको अवसर पारेर नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डको सहयोगमा पर्यटन सूचना केन्द्रको स्थापना हुनु सकारात्मक भएको पर्यटन समितिका संयोजक भविष कुमार श्रेष्ठले जानकारी दिए । उनले १४ वटै जिल्लाका पर्यटकीय स्थलहरुको जानकारी, पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्था, सहासिक पर्यटन सम्वद्ध कम्पनीहरु, टुर गाइड, ट्राभल्स एण्ड टुर्स, होटल लगायतका जानकारीहरु सूचना केन्द्रमा रहने बताए ।

सूचना केन्द्रमा पर्यटनसम्बन्धि जानकारी दिनसक्ने दक्ष जनशक्तिको व्यवस्था गरिने र त्यसका लागि प्रदेश सरकार अन्तरगत पर्यटन तथा संस्कृति मन्त्रालयलाई आग्रह गरिएको छ ।

आगामी दुई महिनाभित्र सूचना केन्द्रलाई प्रभावकारी रुपमा संचालन गर्न पर्यटन क्षेत्रसँग सम्वद्ध १६ वटा निकायहरुसँग समन्वय भइरहेको श्रेष्ठको भनाई थियो । महासंघ प्रदेश समितिका सदस्य रविन दाहालले सूचना केन्द्र स्थापनापश्चात प्रदेशको पर्यटन विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु