नेपाली उद्योगले उत्पादन बढाउँदा क्लिङ्कर आयात शून्य, ५ वर्षमा भएको थियो ४७ अर्बको आयात



काठमाडौं । नेपाली उद्योगले उत्पादन बढाउँदा क्लिङ्कर आयात हुन छोडेको छ । विगतको दिनमा अर्बौ रुपैयाँको क्लिङ्कर आयात गर्ने नेपालले अहिले सिमेन्ट निर्यात गर्न सक्ने अवस्थामा पुगिसकेको छ ।

ग्रान्डिङ सिमेन्ट उत्पादनका लागि अति आवश्यक कच्चा पदार्थ क्लिङ्कर उद्योग बढ्दै गएको र उत्पादन क्षमता बढाउँदै लगेपछि अहिले नेपाल पूर्ण रुपमा आकत्मनिर्भर भइसकेको छ ।

नेपालले विगतको दिनमा ग्रान्डिङ सिमेन्ट र क्लिङ्कर भारतबाट आयात गरेर आपूर्ति गर्दै आएको थियो । तर, अहिले नेपालकै उद्योगीहरूले उद्योग स्थापना गरी उत्पादन सुरु गरेपछि विस्तारै निकासीतर्फ आकर्षण भएका छन् ।

उद्योगीहरुले नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको र निकासीका लागि सहज बनाउन सरकारलाईय बाटो खुलाउन माग गर्दै आएका थिए । त्यस्तै, सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् सिमेन्ट निर्यातको बाटो खुला गरेको छ । उक्त बाटो खुला गरेपछि कतिपय उद्योगीहरुले सिमेन्ट निर्यातसमेत गरिसकेका छन् ।

हाल नेपाल सिमेन्टमा र क्लिङ्करमा पूर्ण रुपमा आत्मनिर्भर भइरहेको उद्योगीहरू बताउँछन् । उद्योगीहरूले नेपालमा खपत नहुँदा भारततर्फ वार्षिक डेढ खर्ब रुपैयाँको सिमेन्ट निर्यात गर्न सक्ने क्षमतामा पुगेको उद्योगीहरुको भनाइ छ ।

हाल देशभर ६५ वटा सिमेन्ट उद्योग छन् । त्यसमध्ये ४४ वटा ग्रीन्डिङ उद्योग छन् भने २१ वाट क्लिङ्कर उद्योग छन् । उक्त उद्योगमा ३ खर्ब लगानी रहेको छ । उद्योगीहरूले सिमेन्ट क्लिङ्करमा उत्पादन बढाउँदै गएपछि अहिले आयात लगभग ठप्प छ । भन्सार विभागको तथ्याङ्कले पनि उत्पादन बढाउँदा आयात ठप्प भएको देखाउँदछ ।

करिब ३ वर्षअघिसम्म पनि नेपालमा पर्याप्त मात्रामा सिमेन्ट क्लिङ्कर उत्पादन हुन सकेको थिएन । नेपालले सो बेला पनि भारतबाट क्लिङ्कर आयात गरी सिमेन्ट उत्पादन गर्नुपर्ने बाध्यता थियो । तर, अहिले नेपालमै पर्याप्त क्लिङ्कर आयात ठप्प भएको छ ।

चालु आर्थिक वर्षको २ महिनाको अवधिमा क्लिङ्कर आयात ठप्प भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्दछ । नेपालले करिब ५ वर्ष अगाडि एक आर्थिक वर्षमा ३० अर्ब रुपैयाँभन्दा बढीको क्लिङ्कर सिमेन्ट आयात गरेको थियो ।

आर्थिक वर्ष २०७४/७५ मा ३० अर्ब २३ करोड ८ लाख रुपैयाँ बराबरको मात्रै सिमेन्ट क्लिङ्कर आयात गरेको थियो । तर, उक्त वर्षपछि आयात भने निरन्तर घटी अहिले ठप्प भएको छ ।

आत्मनिर्भर भइसकेको सिमेन्टमा उच्च सम्भावना देखेपछि पछिल्ला दिनहरुमा क्लिङ्कर उद्योग थप हुँदै गएको छ । जसमा गत वर्ष मात्रै आधार दर्जनको हाराहारीमा क्लिङ्कर उद्योग थप भएका छन् ।

पुरानो उद्योगहरूले पनि आफ्नो उत्पादन बढाएका छन् । भारतबाट आयात गर्ने क्लिङ्करभन्दा नेपालमा उत्पादन भएको क्लिङ्करको मूल्य सस्तो छ । जसले गर्दा आयातमा प्रत्यक्ष असर पर्दछ । साथै, भारतको क्लिङ्करभन्दा नेपालको क्लिङ्कर निकै गुणस्तर रहेको उद्योगीहरुको भनाइ छ ।

क्लिङ्करको प्रयोग सिमेन्टको खपतको आधारमा हुन्छ । नेपालमा चालु आर्थिक वर्षमा १ करोड टन मात्रै खपत हुने गरेको छ ।

५ वर्षमा ४७ अर्बको क्लिङ्कर आयात
नेपालले ५ वर्षको अवधिमा मात्रै ४७ अर्बको क्लिङ्कर आयात गरेको छ । आव २०७४/७५ देखि गत आर्थिक वर्षसम्ममा ४६ अर्ब ९७ करोड ६३ लाख ८० हजार रुपैयाँको करिब साढे ५ अर्ब केजी क्लिङ्कर आयात गरेको विभागले जनाएको छ ।

नेपालले आव २०७४/७५ मा ३० अर्ब २३ करोड ८२ लाख ३९ हजार रुपैयाँको ३ अर्ब ३१ करोड ७९ लाख ७३ हजार केजी, आव २०७५/७६ मा ११ अर्ब ६७ करोड ८७ लाख ४० हजार रुपैयाँको १ अर्ब ३४ करोड ८१ लख १० हजार ३९१ केजी, आव २०७६/७७ मा नेपालले ४ अर्ब ४१ करोड ४३ लाख रुपैयाँको ५९ करोड १ लाख ६८ हजार ४७५ केजी, आव २०७७/७८ मा ३ अर्ब ६० करोड ५८ लाख रुपैयाँको ४ करोड २२ लाख ७१ ह्जार केजी र आव २०७८/७९ मा ३१ करोड ४७ लाख ५० हजार रुपैयाँको ४७ लाख ८२ हजार केजी क्लिङ्कर सिमेन्ट आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।


क्लिकमान्डु