सत्यमोहन जोशीको हेरचाहका लागि नर्सको व्यवस्था गर्ने सरकारको निर्णय
काठमाडौं । शताव्दी पुरुष सत्य मोहन जोशीको हेरचाहका लागि सरकारले नर्सको व्यवस्था गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले जोशीको स्वास्थ्य हेरचाहका लागि नियमित रुपमा एक जना नर्सको व्यवस्था गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
जोशीलाई डेंगु संक्रमण भएको छ । कमजोर महसुस र खानामा अरुचि भएपछि अस्पतालको आकस्मिक कक्षमा आएका जोशीको परीक्षण गर्दा डेंगु पुष्टि भएको किष्ट मेडिकल कलेजले जनाएको छ । १०२ वर्षका जोशीमा पिसाब संक्रमणका साथै पुरानै छाती तथा मुटुको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई सहज जीवन यापनका लागि सरकारले दिँदै आएको २५ हजार रुपैयाँलाई बढाएर मासिक ५० हजार रुपैयाँ बनाउने निर्णय सरकारले गरेको छ ।