बालेनले राष्ट्रपति र माधव नेपालमाथि किन लगाए आरोप ? यस्तो छ तीनकुने जग्गा प्रकरण



काठमाडौं । शनिबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसहित सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि आरोप लगाए ।

उनले तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधानमा भूमिका नखेलेको आरोप लगाउँदै आसन्न निर्वाचनमा कसरी भोट माग्न जनतामाझ जानुहुन्छ भन्दै प्रश्न गरे ।

आखिर बालेनले दुई जनामाथि किन आरोप लगाए ?

शाहले शनिबार सामाजिक सञ्जालबाट राष्ट्रपतिको नाम नलेखि र समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री भइसकेको भन्दै आफ्नो निर्वाचन क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्यालाई समाधान नगरेकोले ‘कुन मुख देखाएर’ जनतासँग भोट माग्न जानुहुन्छ भन्द प्रश्न गरे ।

चुनाव आउन अझै २ महिना बाँकी रहेको र सरकार पनि आफ्नै रहेकोले समस्या समाधान गर्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’ तीनकुने काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा पर्दछ जहाँबाट माधव कुमार नेपाल निर्वाचित भएका थिए ।

झण्डै पाँच दशकदेखि तीनकुने खाली रहनुको कारण रहेको छ । अधिग्रहण गरिएको जग्गाका विषयमा जग्गाधनी र सरकारबीच कुरा नमिल्दा समस्या देखिएको छ ।

तत्कालीन मेयर विद्यासुन्दर शाक्यले बुद्ध पार्क बनाउने योजना अघि सारेका थिए । तर काम हुन भने सकेन । सरकारले मुआव्जा नदिएपछि काम नभएको महानगरको भनाइ थियो ।

तर मेयर शाहले किन राष्ट्रपति र अध्यक्ष नेपालमाथि जनप्रतिनिधिको रुपमा समस्या समाधान गर्न पहल नगरको आरोप लगाएका हुन् ।

तीनकुने क्षेत्रसमेत रहेको तत्कालीन काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मदन भण्डारीको मृत्युपछि विद्यादेवी भण्डारीले चुनाव जितन् भने अहिले काठमाडौं क्षेत्र नम्बर २ मा रहेको सो क्षेत्रबाट पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सांसद हुन् । पूर्वप्रधानमन्त्री र एक शीर्ष नेताको रुपमा उनले समस्या समाधानका लागि काम नगरेको बालेनले आरोप लगाएका हुन् ।

यस्तो छ तीनकुने समस्या

२०३१ सालमा तत्कालीन पञ्चायत सरकारले तीनकुने क्षेत्रको जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । पञ्चायत स्मारक बनाउनको लागि उक्त जमिन अधिग्रहण गर्ने निर्णय गरिएको भए पनि त्यो हुन सकेन । अधिग्रहण गरिएको जग्गमा मुआब्जा रकम कम दिएको बिबाद भयो । जग्गाधनीले छाड्न मानेका छैनन् ।

समस्या समाधानका लागि विभिन्न सरकारहरुले चार पटक पुनर्मूल्यांकन गरेपनि समस्या समाधान हुन सकेको छैन ।

५३ रोपनी जमिन रहेको तीनकुनेमा सरकारले २१ रोपनीको जग्गाधनीलाई मुआब्जा वितरण गरेको छ । तर अन्य जग्गाको मुआब्जामा भने विवाद देखिएको छ ।

जग्गा धनीले चलनचल्तीको मूल्यअनुरुप मुआब्जा दिनुपर्ने भन्दै लिन अस्वीकार गर्दा समस्या भएको हो । सरकारले पछिल्लोपटक २०५९ असार ३२ मा प्रतिरोपनी ५१ लाख २० हजार रुपैयाँ मुआब्जा रकम तोकेर वितरणको लागि १५ करोड विनियोजन गरेको थियो । तर जग्गाधनीले अस्वीकार गर्दा पैसा फिर्ता भएको थियो ।


क्लिकमान्डु