आजबाट दर्ता नभएका मोबाइल नचल्ने



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट मोबाइल सेटहरूहमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ ।

दूरसञ्चार प्राधिकरणले आज सूचना जारी गर्दै एमडिएमएस सुरु गरेको जनाएको हो । प्राधिकरणले नेपालमा चोरी पैठरी तथा अवैध रुपमा भित्रिएको मोबाइलको आयात रोक्ने भन्दै विगत लामो समयदेखि एमडीएमएस प्रणाली लागू गर्ने कार्य अगाडि बढाएको थियो ।

लामो समयदेखि कार्य गर्दै आए पनि कार्यान्वयन हुन सकेको थिएन । तर, आजबाट प्राधिकरणले अवैध रुपमा भित्रिएको मोबाइल रोक्ने उद्देश्यका साथ सो प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ ।

‘मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न प्राधिकरणले एमडीएमएस प्रणाली लागू गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।

उक्त प्रणाली लागू भएसँगै चोरी पैठरी तथा अवैध रुपमा भित्रिएका मोबाइल सेटहरु अनिवार्य दर्ता गर्नुपर्नेछ । दर्ता नभएको मोबाइल सेट भने नचल्ने प्राधिकरणले जनाएको छ ।

तर, आजसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेटलगायत चालु रहेका मोबाइल सेट स्वः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ ।

आजबाट भने मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट प्राधिकरणको एमडीएमएस प्रणाली (mdms.nts.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्न अनुरोध गरेको छ ।

साथै, मोबाइल आयातकर्ता/विक्रेताहरुले मोबाइल आयात गर्नुअधि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ ।


क्लिकमान्डु