सोमबारदेखि देशभरका चलचित्र हल बन्द गर्ने निर्णय



काठमाडौं । नेपाल चलचित्र संघले सोमबारबाट देशभरका चलचित्र हलहरु बन्द गर्ने निर्णय गरेको छ । संघको बिहीबार बसेको कार्यसमितिको बैठकले सोमबारबाट देशभरका चलचित्र हलहरु बन्द गर्ने निर्णय गरेको हो ।

बिहिबारको बैठकको निर्णयबारे जानकारी दिँदै सार्वजनिक गरिएको विज्ञप्तीमा उल्लेख भएअनुसार संघका सदस्यहरुप्रति अनर्गल रुपमा मानमर्दन हुने किसिमको अभिव्यक्ति आएको र चलचित्र जाँच पास गर्दा अनावश्यक दुःख दिने कार्यको विरोध गर्ने हेतुले सोमबार बाट चलचित्र हलहरु बन्द गर्ने निर्णय भएको हो ।

शुक्रबारबाट नेपालका सिनेमा हलमा ‘ऐना झ्यालको पुतली’ र ‘गोरखा’सहित हिन्दी फिल्म ब्रह्मास्त्र पनि लाग्दै थियो । तर, नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’का लागि बुकिङ भने खुल्ला गरिएको थिएन् । शो सार्वजनिक नगरिएको भन्दै चलचित्र क्षेत्रका व्यक्तिहरुले यसको विरोध गरिरहेका थिए । यसबीच संघले भने फरक कारण देखाउँदै हलहरु सोमबारबाट विरोध गर्ने निर्णय गरेको छ ।

‘कोरोनाबाट आक्रान्त चलचित्र क्षेत्रलाई सरकारबाट संरक्षण गर्नुको साटो चलचित्र क्षेत्रलाई धराशायी बनाउने उदश्यले चलचित्र आयातमा बाधा उत्पन्न गराइएको छ,’ संघका महासचिव नरेन्द्र महर्जनले विज्ञप्तीमार्फत भनेका छन्, ‘चलचित्र जाँच पास गर्दा अनावश्यक दुःख दिने जस्ता कार्यहरुको कसरी विरोध गर्ने भन्ने सम्बन्धमा बहस र छलफलमा रहेको हुँदा हाम्रा सदस्यहरुले अगाामी दिनमा प्रदर्शनमा आउने कुनै पनि शोको अग्रिम बुकिङ्ग नखोलेको हो । आन्दोलनको संकेत स्वरुप भदौ २७ (सोमबार)बा देशभरका चलचित्र हलहरु बन्द गर्ने निर्णय गरेका छौं ।’


क्लिकमान्डु