८ अर्ब ७७ करोड खर्चेर निर्माण हुँदैछ नौबस्ता औद्योगिक क्षेत्र



खजुरा । घोषणा भएको पाँच वर्षपछि बाँकेको नौबस्ता औद्योगिक क्षेत्र निर्माण अघि बढ्ने भएको छ । विगतमा जग्गा विवादलगायत समस्या देखिए पनि पछिल्लो समय प्रगति भएपछि उद्योगी तथा व्यवसायी उत्साहित बनेका छन् ।

सरकारको नीतिअनुसार औद्योगिक क्षेत्रभित्र उद्योग दर्ता, भन्सार तथा कर कार्यालय स्थापना गर्न मिल्ने गरी पूर्वाधार तयार गरिएको छ । जग्गा विवादलाई पनि टुङ्गो लगाउने प्रयास भइरहेको नौबस्ता औद्योगिक क्षेत्रका कार्यालय प्रमुख कृष्णबहादुर पुनले बताए ।

बैजनाथ गाउँपालिकाको उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पूर्वमा गाभर र पश्चिममा पितमारीभित्र रहेको पाँच सय २५ बिघा सरकारी जग्गामध्ये तीन सय ३८ बिघा जग्गा नौबस्ता औद्योगिक क्षेत्रको नाममा आइसकेको छ ।

उक्त क्षेत्रमा नौदेखि ३० रोपनी क्षेत्रफलका कूल एक सय ११ प्लट निर्माण गरिनेछन् । उक्त प्लटमा औद्योगिक पूर्वाधार बनाउने तयारी छ । यसका लागि ठेक्का प्रक्रिया अगाडि बढीसकेको छ ।

औद्योगिक क्षेत्रको परियोजना सम्पन्न गर्न कूल आठ अर्ब ७७ करोड खर्च लाग्ने अनुमान गरिएको छ । रोकिएको निमार्ण कार्य पुनःसञ्चालन भएपछि उद्योगी व्यवसायी खुसी भएका छन् । रासस


क्लिकमान्डु