सञ्चालकले ऋण अपचलन गरेपछि सुपर लघुवित्तलाई राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषणा



काठमाडौं । नेपाल राष्ट्र बैंकले दाङस्थित तुल्सिपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

संस्थाको २०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षण पछि समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

निरीक्षणका क्रममा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको प्रत्यक्ष संलग्नतामा संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरूपयोग गरेको देखिएको छ ।

संस्थाको प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको हुँदा उक्त संस्थालाई २०७८ चैत २ गते बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारबाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो ।

संस्थाले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख को (क), (ख), (घ), (च) तथा (ञ) को अवस्था विद्यमान रहेको देखिएकोले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रूपमा घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु