एक वर्षमा ६ वटा वाइन उद्योग दर्ता, उत्पादन क्षमता सवा १ करोड लिटर



काठमाडौं । गत वर्ष देशभर ६ वटा वाइन (मदिरा) उत्पादन गर्ने उद्योग दर्ता भएका छन् । उद्योग विभागमा दर्ता भएको तथ्याङ्कअनुसार गत एकै वर्ष ६ वटा उद्योग दर्ता भएका हुन् ।

नेपालमा साना तथा ठूला वाइन उत्पादन गर्ने कम्पनी ६० वटाभन्दा बढी छन् । तर हिन्वा, डिभाइन, बिग मास्टर, ग्राप्पल र डाँडाघरे ब्रान्डका वाइनले नै अधिकांश बजार हिस्सा ओगटेका छन् ।

नेपालमा आयातित मदिराको दबदबाह कायमै छ । नेपालले वार्षिक अर्बौ रुपैयाँ खर्चेर मदिराजन्य वस्तु आयात गर्दै आएको छ । उक्त आयातित मदिरासँगै स्वदेशी मदिरा पनि उत्पादन गर्दै आएको आधा दर्जन कम्पनी खेलाडीको रुपमा स्थापित छन् ।

उक्त कम्पनीहरूले वार्षिक अर्बौ रुपैयाँको कारोबार गर्दै आएका छन् । जसले गर्दा स्वदेशमै उत्पादन गर्ने गरी दर्ता भएका साना तथा मध्यम खालका मदिरा उद्योगले बजारमा प्रतिस्पर्धा निकै मुस्किल छ ।

त्यस्तै, नेपालमा ६० भन्दा बढी वाइन उत्पादन गर्ने कम्पनी भएपनि ४, ५ वटाभन्दा बढी ब्रान्डबाहेक अन्य ब्रान्डको वाइन बिरलै देखिन्छ । साथै, आयातित वाइनको बजार हिस्सा पनि धेरै ठूलो भएकाले पनि आन्तरिक उद्योगबाट उत्पादन भइरहेको वाइनले प्रतिस्पर्धा गर्न निकै चुनौती छ । तर, पनि हरेक वर्ष ५, ६ वटा वाइन उद्योग दर्ता हुँदै आएको विभागको तथ्याङ्कले उल्लेख गर्छ ।

गत आर्थिक वर्षमा देशभर ४३ करोड ७८ लाख २४ हजार कुल पुँजी लगानीमा ६ वटा वाइन उद्योग दर्ता भएका छन् । उक्त दर्ता भएको उद्योगको उत्पादन क्षमता भने १ करोड २६ लाख ५५ हजार लिटर रहेको छ ।

कुन उद्योगको उत्पादन क्षमता कति ?

गत वर्षको साउन महिनाको अन्त्यतिर ललितपुर महानगरपालिकामा २० करोड लगानीमा एग्रो स्पिरिट्स प्रालि दर्ता भएको छ । उद्योगले वार्षिक ७५ लाख लिटर फलफूलको वाइन र २५ लाख सिडर उत्पादन क्षमताका साथ दर्ता भएको छ ।

त्यसैगरी, मकवानपुरमा ३ करोड ६० लाख कुल पुँजीसहित सीजी वाइनरी उद्योग दर्ता भएको छ । सो उद्योगबाट वार्षिक २ लाख २५ हजार लिटर वाइन उत्पादन हुने कम्पनीले जनाएको छ ।

गत वर्ष स्याङ्जा जिल्लाको पुतलीबजारमा ४ करोड ४८ लाख २४ हजार कुलपुँजीसहित सुन्तला प्रशोधन घर प्रालि वाइन उद्योग दर्ता भएको छ । कम्पनीले वार्षिक फलफूलको १ लाख ५० लिटर वाइन र १ लाख ५० हजार लिटर साइडर उत्पादन गर्ने जनाएको छ ।

धनुषाको क्षिरेश्वरनाथ १ करोड लगानीमा एसए इण्डस्ट्रिज प्रालि दर्ता भएको छ । सो उद्योगले वार्षिक ३० हजार लिटर वाइन उत्पादन गर्नेछ ।

चितवनको हच्छाकामनामा १० करोड लगानीमा एकता वाइन इन्डष्ट्रि प्रालि उद्योग दर्ता भएको छ । उद्योगले वार्षिक १ हजार किलोलिटर (१० लाख लिटर) वाइन र ८०० किलोलिटर (८ लाख लिटर) साइडर उत्पादन गर्देछ ।

त्यसैगरी, ललितपुरकै गोदावरीमा ४ करोड ७० लाख रुपैयाँ लगानीमा युनाइटेड वाइनरी उद्योग दर्ता भएको छ । सो उद्योगले वार्षिक ३०० किलोलिटर (३ लाख लिटर) वाइन उत्पादन गर्नेछ । देशभर दर्ता भएको वाइन उद्योगबाट डेढ सय बढीले रोजगारी पाउनेछन् ।


क्लिकमान्डु