सहकारीमा मर्जर अभियानः ११ संस्था गाभिदा कति पुग्यो पुँजी ?



काठमाडौं । सहकारी संस्थाहरुले बिग मर्जर अभियान नै सुरु गरेका छन् ।

संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरू स्वस्फूर्त रुपमा एकीकरणमा जान थालेका छन् ।

शनिबार काठमाडौंका ११ वटा सहकारी संस्थाहरुले एकीकरणमा जाने सम्झौता गरेका छन् । एकीकरण सम्झौता गर्ने सहकारीहरुमा काठमाडौंको न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजुको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजारको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिलको लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

त्यस्तै तारकेश्वरको योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंकीको उषाकिरण बचत तथा ऋण सहकारी संस्था, हात्तिसारको माउण्ट अपि बचत तथा ऋण सहकारी संस्था, नयाँबानेश्वरको सुर्यदेव बचत तथा ऋण सहकारी संस्था, न्युरोडको हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था, न्युरोड कै दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था र पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

एकीकरणपछि संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था प्रस्ताव गरिएको छ । संस्थाको मुख्य कार्यालय न्युरोडमा रहने भएको छ ।

नरेन्द्र विष्ट अध्यक्ष रहेन संस्थाको प्रमुख कार्यकारी अधिकृतमा इन्द्रप्रसाद गेलाल रहने प्रारम्भिक सहमती समेत भएको छ । संस्थामा ११ जनाको सञ्चालक समिति, ३ जनाको लेखा सुपरिवेक्षण समिति रहने छ ।

एकीकरणपछि संस्थाको सदस्य संख्या ४१ हजार हुनेछन् भने कुल कर्मचारी संख्या ५१० जना पुग्नेछ । संस्थाको सेयर पुँजी ५५ करोड ५ लाख, बचत निक्षेप ५ अर्ब ६५ करोड, ऋण लगानी ५ अर्ब ७५ करोड, कुल कोष ३१ करोड ५ लाख र कुल सम्पत्ती तथा दायित्व ७ अर्ब ७५ करोड हुने अध्यक्ष नरेन्द्र बिष्टले जानकारी दिए ।

सहकारी संस्थालाई दीगो र सक्षम संस्था बनाउने उद्देश्य सहित एकीकरण सम्झौता गरिएको अध्यक्ष बिष्टले जानकारी दिए । बिष्ट हालको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् ।

एकीकरणमा जाने सहकारीहरुले एक महिना भित्र वार्षिक साधारणसभा सम्पन्न गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारणसभा सम्पन्न गर्ने समेत सम्झौता भएको छ ।

शुक्रबार (हिजो) मात्रै ९ वटा सहकारी संस्था र गत शनिबार ५ वटा सहकारीले एकीकरण सम्झौता गरेका थिए । सहकारी क्षेत्रमा यो अहिलेसम्मकै ठूलो मर्जर हो ।


क्लिकमान्डु