पाल्पामा निर्माणाधीन सिजी सिमेन्ट उद्योगको निर्माण ९०% सकियो, करिब १५ अर्ब लगानी



काठमाडौं । चौधरी ग्रुपको लगानीमा पाल्पाको छहरा–२ सर्देवामा निर्माणाधीन सिजी सिमेन्ट उद्योगको करिब ९० प्रतिशत काम सम्पन्न भएको छ ।

कुल १४ अर्ब ७३ करोड रुपैयाँ लगानी हुने भनिएको उद्योगमा ७५ प्रतिशत कर्जा लगानी हुनेछ । जसमा कम्पनीले हालै १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ कर्जाका लागि रेटिङ समेत गराएको छ ।

उद्योगबाट दैनिक ३ हजार मेट्रिक टन क्लिङ्कर र २ हजार ८ सय मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्नेछ भने दैनिक १३ सय मेट्रिक टन सिमेन्ट उत्पादन हुनेछ ।

सन् २०११ मा स्थापना भएको सिजी सिमेन्ट उद्योगले सन् २०१३ देखि उत्पादन शुरु गरेको थियो । तत्कालीन समयमा दैनिक १५ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएकोमा कम्पनीले पाल्पामा नयाँ उद्योग सञ्चालन गर्न लागेको हो ।

कम्पनीले उद्योग निर्माणको काम २०७२ सालदेखि निर्माण शुरु गरेको थियो । कम्पनीले सिजी सिमेन्टको ब्राण्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्नेछ ।

कम्पनीका अनुसार हाल ग्रीनफिल्ड सिमेन्ट युनिट निर्माणाधीन अवस्थामा छ भने क्लिंकराइजेसन युनिटको निर्माण सम्पन्न पनि उत्पादनको चरणमा छ ।

सिटी सिमेन्ट उद्योग चुनढुंगा खानी नजिकै भएकाले ढुवानी खर्च कम हुने र यसले सिमेन्ट बजारमा प्रतिष्पर्धा गर्न सहज हुने कम्पनीको विश्वास छ ।

चौधरी ग्रुपका अध्यक्षा नेपालका एक मात्रै डलर अर्बपति बिनोद चौधरी हुन् । ग्रुपले विभिन्न म्यानुफ्याक्चरिङ उद्योग, एफएमसीजी, अटोमोबाइल, हस्पिटालिटी लगायतका क्षेत्रमा लगानी गरेको छ ।


क्लिकमान्डु