एक महिनामा जीवन बीमा कम्पनीले संकलन गरे १५ अर्ब, १५ कम्पनीको व्यवसाय बढ्दा ४ कम्पनीको घट्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिनाअर्थात साउन महिनामा १५ अर्ब ५ करोड ७४ लाख रूपैयाँको व्यवसाय गरेका छन् ।

गत आर्थिक वर्षको तुलनामा कम्पनीहरूको व्यवसाय ९.३५ प्रतिशतले घटेको हो । गत आवमा कम्पनीहरूले १६ अर्ब १६ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

चालु आवको साउन महिनामा कम्पनीहरूले प्रथम बीमाशुल्कबाट २ अर्ब २० करोड ३३ लाख रूपैयाँ र नवीकरण बीमाशुल्कबाट १२ अर्ब ८५ करोड ४० लाख रूपैयाँ गरी कुल १५ अर्ब रूपैयाँ संकलन गरेका हुन् ।

साउन महिनामा कम्पनीहरूमा ७ लाख १० हजार ३४ वटा बीमालेख जारी भएका छन् ।

बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको तुलनामा १५ कम्पनीको व्यवसाय बढेको छ । भने ४ कम्पनीको व्यवसाय घटेको छ ।

राष्ट्रिय बीमा संस्थान, मेट लाइफ, रिलायबल नेपाल लाइफ र प्रभु लाइफको व्यवसाय घटेको हो ।

गत आवको तुलनामा राष्ट्रिय बीमा संस्थानको कुल बीमाशुल्क संकलन ८६.५४ प्रतिशतले घटेर ५० करोडमा सीमित भएको छ । गत आवमा संस्थानले ३ अर्ब ७३ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

मेट लाइफको कुल बीमाशुल्क संकलन १.३८ प्रतिशतले घटेर ४८ करोड रूपैयाँमा सीमित भएको छ । गत आवमा इन्स्योरेन्सले ४९ करोड रूपैयाँ संकलन गरेको थियो । रिलायबल नेपाल लाइफको व्यवसाय २.६३ प्रतिशतले घटेर २९ करोड रूपैयाँमा सीमित भएको छ ।

गत आवमा इन्स्योरेन्सले ३० करोड रूपैयाँ संकलन गरेको थियो । यस्तै, प्रभु लाइफको बीमाशुल्क संकलन ३०.९८ प्रतिशतले घटेर २३ करोड रूपैयाँमा सीमित भएको छ । गत आवमा प्रभुले ३४ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

१९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ परेको छ । इन्स्योरेन्सले साउन महिनमा ४ अर्ब ७७ करोड रूपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको साउन महिनामा इन्स्योरेन्सले ४ अर्ब ७६ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्नेमा महालक्ष्मी लाइफ परेको छ । इन्स्योरेन्सले १६ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवमा इन्स्योरेन्सले १२ करोड रूपैयाँ संकलन गरेको थियो । गत आवको तुलनामा इन्स्योरेन्सको व्यवसाय ३७.१८ प्रतिशतले बढेको हो ।

एलआईसी नेपालको व्यवसाय ८८.४९ प्रतिशतले बढेर १ अर्ब ८८ करोड रूपैयाँ पुगेको छ । गत आवमा इनस्योरेन्सले १ अर्ब रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

महालक्ष्मी लाइफको ३७.१८ प्रतिशत, सन नेपाल लाइफको ३५.९३ प्रतिशत, सानिमा लाइफ इन्स्योरेन्सको ३३.८१ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु