नयाँ ब्रोकर थप नगर्न चलखेल भएको भन्दै सेयर लगानीकर्ता संगठनहरुको आपत्ति



काठमाडौं । ‘धितोपत्र व्यवसायी नियमावली २०६४’ पास हुन ढिलाइ भएको भन्दै सेयर लगानीकर्ता संगठनहरुले संशय व्यक्त गरेका छन् ।

सोमबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघले एक विज्ञप्ती जारी गर्दै नयाँ ब्रोकर थप गर्ने बारे मन्त्रिपरिषद्‍मा रोकिएको भन्दै सिण्डिकेट प्रथालाई नै निरन्तरता दिन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

मुलुक आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्नेछ भन्ने गठबन्धन सरकारको उद्घोषले निकै उत्साहित लगानीकर्ताहरूमा अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेको सेयर बजारमा उत्साहमा कमी आउनुले जिम्मेवार निकायहरूको भनाइ र गराइमा फरक देखिएको उनीहरुको आरोप छ ।

विगत केही समयदेखि विभिन्न चरणमा काम हुँदै अगाडि बढिरहेको पुँजीबजार विकास र विस्तारमा कोशेढुङ्गा सावित हुने तीन तहको नयाँ ब्रोकर थप गर्ने सम्बन्धमा धितोपत्र बोर्डको सञ्चालक समितिबाट पास भई मन्त्रिपरिषद्‌मा पुगिसकेको अवस्थामा मन्त्रिपरिषद्मा रहेका जिम्मेवार पदाधिकारीबाट सिन्डिकेट प्रथालाई नै निरन्तरता दिने खालका गतिविधि हुन आएको र उक्त प्रक्रिया अगाडि बढ्न नदिन विभिन्न खालका ढिलासुस्ति गरी रोकिएको आरोप उनीहरुको छ ।

‘खरबौँ पुँजी भएको पुँजी बजारलाई सीमित ब्रोकरहरूबाट लामो समयदेखि सिन्डिकेटको वातावरण तयार गरी बजार विकास र विस्तारमा अवरोध गर्ने कार्य भइरहेकोले नेपाल धितोपत्र बोर्डबाट पास भएर मन्त्रीपरिषद्बाट पास हुने उक्त संशोधित “धितोपत्र व्यवसायी नियमावली २०६४” ढिलासुस्ति भएकोमा सम्पूर्ण लगानीकर्ताहरूमा संशय उत्पन्न भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

विभिन्न मुलुकहरू भारत, सिंगापुर, बंगलादेश, श्रीलंका, अमेरिका लगायत विश्वभर प्रचलनमा रहेको फ्री इन्ट्री/फ्री इग्जिटको व्यवस्था रहेकोमा नेपालमा सीमित ब्रोकर राखि कारोबार भइरहेकोले बोर्डबाट पारित ब्रोकर थप सम्बन्धी कार्य कुनै बहानाबाजी नगरी यथाशीघ्र पारित लगानीकर्ताहरुले आग्रह गरेका छन् । यो वा त्यो बहानामा कहिँ कतैबाट यसलाई रोकिएमा ५२ लाख लगानीकर्ताहरू आन्दोलित हुन बाध्य हुने चेतावनी उनीहरुको छ ।


क्लिकमान्डु