२९ कम्पनीको १० अर्बको आईपीओ पाइपलाइनमा, १६ वटा हाइड्रोपावर कम्पनी



काठमाडौं । विभिन्न क्षेत्रका २९ वटा कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन् ।

बोर्डका अनुसार २९ वटा कम्पनीले कुल १० अर्ब ४ करोड ८८ लाख २८ हजार १८५ रुपैयाँ बराबरका ७ करोड १९ लाख २८ हजार ७०५ कित्ता साधारण सेयर (आईपीओ) निष्कासनका लागि आवेदन दिएका हुन् ।

आईपीओ निष्कासनका लागि सेबोनको पाइपलाइनमा रहेका २९ कम्पनीमध्ये २ वटा कम्पनीले बुक विल्डिङ विधिमार्फत् आईपीओ निष्कासन गर्नेछन् भने २ वटा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने छन् ।

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत् आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् ।

यसका लागि दुबै कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्नेछन् । सर्वोत्तम सिमेन्टले पहिलो चरणमा २४ करोड रूपैयाँको २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ ।

साथै, रिलायन्सले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्नेछ । कम्पनीले ७ करोड ७० लाख ६४ हजार रूपैयाँको ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई तोकेको छ ।

त्यसैगरी घोराही सिमेन्ट र रिलायबल लाइफ इन्स्योरेन्सले भने प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने छन् ।

घोराही सिमेन्टले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्कासन गर्ने धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणलाई ७५ लाख ४६ हजार ६११ कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावितलाई स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँमा आईपीओ निष्कासन गर्नेछ भने सर्वसाधारणका लागि भने प्रतिकित्ता ३३५ रुपैयाँमा आवेदन दिन पाउनेछन् । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ ।

रिलायबल लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नेछ । कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँको ६० लाख कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई तोकेको छ ।

आईपीओ पाइपलाइनमा रहेका २९ कम्पनीमध्ये सबैभन्दा बढी १६ वटा जलविद्युत् कम्पनी छन् । त्यस्तै २ वटा बीमा कम्पनी, उत्पादनमूलक कम्पनी ३ वटा र २ वटा माइक्रोफाइनान्स कम्पनी छन् ।

आईपीओ निष्कासन गर्न बोर्डको पाइपलाइनमा रहेका कम्पनीमा कुथेली बुखारी स्मल हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, शुभम् पावर, सुपरमाई हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट, टे«ड टावर, अपर साङगे हाइड्रोपावर कम्पनी छन् ।

त्यसैगरी डिसहोम मिडिया नेटवर्क, थ्री स्टार हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेष्टमेन्ट नेपाल, सिटी होटल, हाइखोला हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था र इन्ग्वा हाइड्रोपावर कम्पनी पनि आईपीओ निष्कासनको पाइपलाइनमा छन् ।

साथै, सुपरमाई हाइड्रोपावर, मोलुङ हाइड्रोपावर कम्पनी, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, एशियन हाइड्रोपावर र कालिञ्चोक दर्शन प्रालि कम्पनी पनि आईपीओ ल्याउने तयारीमा छन् ।


क्लिकमान्डु