पैंचोका उत्पादन अमेरिकामा, अन्य देशमा पनि निर्यात गर्ने तयारी



काठमाडौं । ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको पैंचो पसल प्रालिद्वारा उत्पादित ‘पैंचो उत्पादन’हरु अब संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ ।

पैंचोले आफ्नो उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्याउने उदेश्यले अमेरिकामा निर्यात शुरुवात गरेको हो । पैंचोका उत्पादन अमेरिका पुर्याउन न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालीमार्फत् सहकार्य गरेको छ ।

‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल मन्त्रका साथ सुरु भएको पैंचो पसल प्रालिका उत्पादनप्रति नेपालभरका उपभोक्ताको विश्वास बढ्दो क्रममा छ । यस्तै विदेशमा बसोबास गर्ने आम नेपाली समुदायले पनि रुचाउने आफ्नै जन्ममाटोको स्वादको पारखकै कारणसमेत पैंचोले आफनो उत्पादनलाई औपचारिकरुपमा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन लागेको हो ।

लामो समय विदेशमा बसेपनि नेपाली स्वादप्रति भोको हुने आम उपभोक्ताको मनोविज्ञान र मागलाई मध्यनजर गर्दै विशुद्ध पहाडी र उच्चपहाडी भूभागका कृषकले उत्पादन गरेको कृषिजन्य पदार्थलाई प्रशोधन गरी विभिन्न देशमा निर्यात गर्दै आएको छ । कम्पनीले यसअघि जापान, अष्ट्रेलिया र यूरोपका विभिन्न देशमा निर्यात गर्दै आएकोमा अबदेखि अमेरिकामा पनि निर्यात गर्ने भएको पैंचोका बजार ब्यवस्थापक लक्ष्मण गैरेले जानकारी दिए ।

‘अहिले विदेशमा बस्ने नेपालीले नेपालकै उत्पादनप्रति धेरै नै चाहना गरिरहेका हुन्छन् । नेपाल आएपछि विदेशमा फर्किंदा थोरै मात्र त्यस्ता उत्पादन साथमा लगे पनि लामो समय विदेशमा बस्दा स्वेदशी खाद्यवस्तुको अभावको महशुस भैरहेको हुन्छ । त्यसैले पैंचोले अहिले नेपालको ग्रामीण स्वादलाई विश्वभरी छरिएर रहेका नेपालीमाझ पुर्याउने योजनामा अगाडि बढाइरहको छ,’ उनले भने ।

२०७१ सालमा गुल्मीबाट सुरु भएको पैंचो पसलले गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालिकोटलगायतका जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई मात्र खरिद गर्दै आएको छ ।

ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन र केही मात्रामा भएपनि राष्ट्रिय अर्थतन्त्रलाई जीवन्त राख्न पैंचोका उत्पादनले भूमिका खेलिरहेको कम्पनीको दाबी छ । यसैगरी विदेशी आयातलाई प्रतिस्थापन गर्न स्वदेशकै ठूला औद्योगिक प्रतिष्ठानहरुलाई पैंचो पसलले औद्योगिक कच्चा पदार्थ उपलब्ध गराइरहेको छ ।

पैंचोका उत्पादन गुणस्तरीय र नेपाली स्वादमा समेत अब्बल छन् । पैंचोका उत्पादनप्रति आम उपभोक्ताको रुची बढ्दै गएको जनाएको छ । हालै मात्र पैंचोका उत्पादनले अन्तराष्ट्रिय गुणस्तर मान्यता प्रमाणपत्र आइएसओ, डब्लुएचओ–जीएमपी र एचएसीसीपी प्राप्त गरेको छ । त्यसैले यिनै गुणस्तरीय उत्पादनलाई स्वदेशका विभिन्न सहरलेदेखि विश्वका सहरमा पुर्याउने लक्ष्य लिएको गैरेले बताए ।

पैंचोको उत्पादनमा गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, पर्वत, स्याङ्जा रुकुम, रोल्पा, कालीकोट, जुम्लासम्मका १० हजार कृषक प्रत्यक्ष अप्रत्यक्ष रुपमा आबद्ध छन् । पैंचो पसलले औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, विभिन्न प्रकारका जाम, केचप, सस, टोमेटो प्यूरी, भेनगर उत्पादन गरिरहेको छ ।

यसैगरी परम्परागत खाद्यवस्तु जस्तैः फापरको पीठो, कोदोको पीठो, सिन्की, मस्यौरा तथा जुम्लाको सिमी र पहाडी जिल्लामा उत्पादित मकैको आटो (च्याँख्ला), लगायतका जस्ता खाद्य वस्तु उत्पादन गर्दै आएको छ ।

पैंचोको वस्तु अमेरिकाको न्यूयोर्कमा रहेको फेन्सी हाउस इन्कले अग्नि एक्जिम प्रालीमार्फत् नेपालमा उत्पादित खाद्यवस्तुलाई आयात गरेर त्यहाँबाट एक्पोर्ट फर्म नेपाल आईएनसीमार्फत् अमेरिकाभर वितरण गरिरहेको छ । यी तीनवटै संस्थाको सहकार्यमा कन्टेनरमार्फत् पुग्ने विभिन्न नेपाली उत्पादनहरु अमेरिकाका विभिन्न राज्यमा उपलब्ध भैरहेका छन् ।

त्यस्तै, पैंचोका उत्पादनहरू पनि अग्नि एक्जिममार्फत् फेन्सी हाउस इन्कले अमेरिका आयात गरी एक्र्पोट फर्म नेपालमार्फत् सबै राज्यमा बिक्री शुरु गरेको छ । यसका लागि पैंचो पसल र फेन्सी हाउस इन्कबीच सहकार्यका लागि सम्झौता भएको छ ।

‘नेपालबाट हामीले सुरुवाती व्यापार प्रर्वधनका लागि पैंचोका केही उत्पादन अमेरिकमा लगेका थियौं । अमेरिकामा यी उत्पादनलाई अत्यधिक रुचाइयो,’ फेन्सी हाउस इन्कका निर्देशक अनिल रौनियारले भने, ‘त्यसपछि हामीले नियमित रुपमा पैंचो ब्राण्डलाई अमेरिका लैजाने गरी सहकार्य गरेका छौं । पैंचोसँगको सहकार्यले नेपालको पहाडी क्षेत्रका कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुबाट उत्पादित सामान नियमितरुपमा अमेरिकी बजारमा पुर्याउन सफल हुनेछौं ।’

त्यस्तै, पैंचोले आगामी दिनमा अन्य देशसँग सहकार्य गरेर विश्वका विभिन्न देशमा निर्यात गर्ने तयारी गरेको पैंचोका निर्देशक राजन पौडेलले बताए ।


क्लिकमान्डु