रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले असहयोग गर्‍यो: महाप्रवन्धक झा



काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन् ।

महाप्रवन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसीएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरे पनि सम्झौता बामोजिमको रकम नदिएको गुनासो गरेका हुन् ।

बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको आरोप लगाए ।

कम्पनीमा महाप्रवन्धक भएको एक वर्ष पुग्न लाग्दासमेत रेल सञ्चालनका लागि मन्त्रालयले रकम नदिएको गुनासो गरे । उनले मन्त्रालयले पूर्व महाप्रवन्धकलाई पैसा दिने तर आफू आएपश्चात् पूर्वाग्रह राखेर रकम निकासा नगरेको आरोप लगाए ।

‘रेल्वे सञ्चालनको लागि अन्य समस्या भन्दा पनि बजेट व्यवस्थापन मुख्य कुरा हो । २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । भारतीय केआरसिएल कम्पनीसँग सम्झौता गर्न लाग्ने सम्पूर्ण रकम अर्थ मन्त्रालयले निकासा दिने भन्ने थियो । म महाप्रवन्धक भएर आएको एक वर्ष भएको छ । अर्थ मन्त्रालयबाट हामीले एक रुपैयाँ पनि पाएका छैनौं’ उनले भने ।

अहिले रेल्वेमा यात्रुहरुको चाप अत्याधिक रहेको तर अर्को रेल खरिद गर्न कम्पनीसँग पैसा नभएको उनको भनाइ छ ।

अब एक थान यात्रुवाहक र एक थान सामग्री बोक्ने रेल सञ्चालन गर्नसके रेल्वे कम्पनीलाई नाफामा लगेर देखाउने उनको दाबी छ । झाले पैसा नभएपछि योजना बनाएर मात्रै रेल नचल्ने बताए ।


क्लिकमान्डु