अवसर इक्विटी फण्डलाई भेञ्चर क्यापिटलको अनुमति, आध्यान्त फण्ड अन्तिम चरणमा



काठमाडौं । नेपाल धितोपत्र बोर्डले अवसर इक्वीटि फण्डलाई भेञ्चर क्यापिटलको अनुमति दिएको छ । आइतबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले कम्पनीलाई भेञ्चर क्यापिटलको अनुमति दिएको हो ।

बोर्डका अनुसार आध्यान्त फण्ड लिमिटेडलाई पनि क्यापिटल सञ्चालन अनुमति दिने प्रकृया अन्तिम चरणमा रहेको छ । बोर्डले माग गरे अनुसार आध्यान्तले ९५ प्रतिशत कागजात पेस गरेको र अब ५ प्रतिशत काम बाँकी रहेको छ । बोर्डले माग गरे अनुसारको आवश्यक कागजात आध्यान्तले पेस गरिसकेपछि सम्भवतः अब बस्ने सञ्चालक समितिको बैठकले सञ्चालन अनुमति दिनेछ ।

बोर्डले यसअघि नै ग्लोबल इक्विटी फण्डलाई भेञ्चर क्यापिटल व्यवसाय सञ्चालन गर्न अनुमति दिइसकेको छ । भेञ्चर क्यापिटल व्यवसाय सञ्चालन गर्न धितोपत्र बोर्डमा आवेदन दिएका १७ कम्पनीमध्ये ९ वटा छनोट भएका थिए । ९ वटालाई बोर्डले पूर्वाधार तयार बनाउन निर्देशन दिएको थियो । ९ वटामध्ये २ वटाले अनुमति पाएसँगै बाँकी ७ वटा पूर्वाधार निर्माणको तहमा छन् । ७ वटामा पनि आध्यान्तको काम अन्तिम चरणमा पुगेको बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।

धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले प्रकृया पूरा गरेर आए सबै कम्पनीलाई भदौसम्म अनुमतिपत्र दिने बताए । अध्यक्ष हमालले बाँकी रहेका कम्पनीलाई पनि तत्काल आवश्यक कागजात पेश गर्न र पुर्वाधार निर्माण सक्न आग्रह गरे । सम्बन्धीत कम्पनीले जति छिटो काम सक्यो त्यती नै छिटो बोर्डले अनुमित दिने हमालको भनाइ छ ।बोर्डले पुूर्वाधार तयार पार्न आध्यान्त फण्ड लिमिटेडका साथै एनएमबी क्यापिटल, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, नबिल इन्भेष्टमेन्ट बैंकिङ र एनआईबीएल एस क्यापिटललाई निर्देशन दिइसकेको छ ।

यो सँगै बोर्डको नीति तथा कार्यक्रम कार्यान्वयन पनि सुरु भएको छ । बोर्डका अध्यक्ष हमालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको ९ नम्बर बुँदामा ‘भेञ्चर क्यापिटलको माध्यमबाट पुँजी तथा व्यवसायिक ज्ञान परिचालन गर्न सक्नेगरी अनुमतिपत्र प्रदान गरी सम्मुन्नतिको दायरा बढाइनेछ’ भन्ने उल्लेख थियो ।

उक्त नीति कार्यान्वयमा आएको छ । हमालले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नै भेञ्चर क्यापिटललाई अनुमति दिने काम अन्तिम चरणमा पुगेको बताएका थिए । अध्यक्ष हमालले नीति तथा कार्यक्रम प्रस्तुत गरेको डेढ सातामा नै कार्यान्वयमा आएको हो ।


क्लिकमान्डु