होटल तथा रेष्टुराँमा आकर्षण, एक वर्षमा थपियो साढे ३३ अर्ब लगानीको प्रतिबद्धता



काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख पर्यटक ल्याउने लक्ष्य लिए पनि कोरोना महामारीका कारण पूरा हुन सकेन ।

फलस्वरुप नेपाल भ्रमण वर्ष अभियान शुरु भएको तीन महिनामै स्थगित गर्नुपर्यो । स्थगित भएको २ वर्षपछि सरकारले अब भ्रमण वर्षको साटो भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ । र, यसका लागि तयारी शुरु गर्न लागिएको पर्यटनमन्त्रीले जीवनराम श्रेष्ठले बताइसकेका छन् ।

सन् २०२० मा भ्रमण वर्ष मनाउने तयारीसँगै नेपालमा होटल तथा रेष्टुराँ खुल्ने क्रम समेत निकै बढेको थियो । जसमा स्वदेशी र विदेशी दुबै लगानीमा होटल तथा रेष्टुराँ निर्माण हुने क्रम बढेको थियो ।

यद्यपि कोरोना महामारीका कारण होटल तथा रेष्टुराँ निर्माणमा केही सुस्तता आए पछि सन् २०२१ र २०२२ मा भने होटल तथा रेष्टुराँमा लगानी बढ्न थालेको छ ।

उद्योग विभागका अनुसार पछिल्लो १ वर्षमा मात्रै साना, मझौला तथा ठूला लगानीमा ३३ अर्ब ६६ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ । जसमा पर्र्यटक स्तरीय होटल तथा रेष्टुराँ र रिसोर्टदेखि पाँचतारे होटलसम्म छन् ।

विभागका अनुसार ठूलो लगानी अन्तर्गत १२ वटा होटल तथा रेष्टुराँ छन् । जसमा २३ अर्ब २८ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ । यी १२ वटा कम्पनीमा १ हजार ७२१ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् ।
ठूला लगानी अन्तर्गत करिब ६ अर्ब रुपैयाँ लगानीको सूर्य नेपाल प्रालि बुढानिलकण्ठ, २ अर्ब ५१ करोड लगानीको आयुष्मान होटलस्स लिमिटेड झापा, २ अर्ब ५० करोड लगानीमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स प्रालि निर्माणका लागि विभागमा दर्ता भइसकेका छन् ।

साथै, २ अर्ब ५० करोड लगानीमा बुढानिलकण्ठ हेरिटेज लिमिटेड काठमाडौं, १ अर्ब ६९ करोड लगानीमा होटल इस्टर्न नेपाल झापा र १ अर्ब ६६ करोड लगानीमा द मेट्रोपोलिटन होटल प्रालि निर्माणका लागि उद्योग विभागमा दर्ता भएका छन् ।

विभागका अनुसार ठूलो लगानी अन्तर्गत १ अर्ब ५० करोड रुपन्देहीमा होटल सेफ्रोन सिके प्रालि, १ अर्ब ३० करोड लगानीमा नेपाल इन्टरनेशनल हस्पिटालिटी प्रालि, १ अर्ब ३० करोड लगानीमा स्वर्णिम बुटिक होटल प्रालि काठमाडौं, १ अर्ब लगानीमा ग्रीन भ्यू प्रालि काठमाडौं, ७३ करोड लगानीमा सत्यवती दर्शन प्रालि पाल्पा र७० करोड लगानीमा चीतवनमा लस्ट होराइजन सफारी रिसोर्ट एण्ड स्पा प्रालि सञ्चालनका लागि दर्ता भएका छन् ।

त्यसैगरी पछिल्लो एक वर्षमा सानो लगानी अन्तर्गत २३ वटा होटल, रिसोर्ट तथा रेष्टुराँ दर्ता भएका छन् । जसमा २ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । जसले प्रत्यक्ष रुपमा १ हजार १५८ जनालाई रोजगारी प्रदान गर्नेछ ।

त्यसैगरी मझौला लगानी अन्तर्गत २९ वटा कम्पनीले ७ अर्ब ८४ करोड ६० लाख ७६ हजार २१३ रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ । यी होटल तथा रेष्टुराँले १ हजार ८४६ जनालाई प्रत्यक्ष रोजगारी दिने समेत उल्लेख गरिएको छ ।


क्लिकमान्डु