गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस
काठमाडौं । सहकारी विभागले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय समक्ष सिफारिस गरेको छ ।
सहकारीले सदस्यको हित विपरीतका कार्य गरेको, निर्धारित शर्त बमोजिम बचत फिर्ता नगरेको, सहकारी मूल्य मान्यता एवं सहकारी ऐन, नियम र निर्देशनको पालना नगरेको भन्दै समस्याग्रस्त घोषणा गर्न प्रस्ताव गरेको जनाएको छ ।
संस्थाले ११ सयभन्दा बढी सदस्यहरुको अर्बौ बचत फिर्ता नगरेका कारण सहकारी ऐन, २०७४ को दफा १०४ (१) को खण्ड (क), (ख), (ग), (घ), तथा (च) समेतको अवस्थाको विरुद्ध रहेको देखिएको हुँदा विभागबाट उक्त संस्थालाई सहकारी ऐन, २०७४ को दफा १०४ को (१) बमोजिम समस्याग्रस्त सहकारी संस्थाका रुपमा घोषणा गर्न मन्त्रलयमा सिफासिर गरिएको विभागले जनाएको छ ।
काठमाडौ महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको संस्थाका बचतकर्ताहरुबाट बचत रकम फिर्ता नभएकोले आवश्यक कारबाहीका लागि विभागमा ११ सय भन्दा बढी उजुरी परेको छ ।
विभागले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा साउन १७ गते संस्थाका अध्यक्ष राम बहादुर गौतम सहित सन्चालक तथा व्यवस्थापक कर्मचारीहरुलाई सोधपुछ गर्न विभागमा उपस्थित गराइदिन भन्दै लिखित अनुरोध गरेको छ ।
उक्त संस्थाका कुनै पनि संचालक तथा कर्मचारीहरुलाई हालसम्म विभागको सम्पर्कमा नल्याईएको तथा संस्थाको अध्यक्ष, सन्चालक र कर्मचारीहरु कोही पनि सम्पर्कमा नआएको विभागको भनाइ छ ।
सहकारी संस्था, संस्थाका अध्यक्ष गौतम र उनकी पत्नी निर्मला खत्री गौतमको नाममा नेपालभर रहेको घर÷जग्गा यथासिघ्र रोक्का राखी सहयोग गरिदिन हुन भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई १७ गते नै पत्राचार गरेको विभागले जनाएको छ । १७ गते सम्म १ अर्ब ७५ करोड भन्दा बढिको मागदावी सहित ११ सय जना भन्दा बढी पीडित बचतकर्ताहरुबाट उजुरी निवेदनहरु परेको र उजुरी प्राप्त हुने क्रम जारी रहेको विभागले जनाएको छ ।