कोरोनाकालमा घटेको घोराही सिमेन्टको व्यापार ७.३३% ले बढ्यो, प्रिमियम मूल्यमा आइपीओ ल्याउँदै



काठमाडौं । कोरोना महामारीका कारण घटेको घोराही सिमेन्टको आम्दानी सन् २०२१ मा भने बढ्न थालेको छ ।

सन् २०१९ मा ८ अर्ब ८७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको कारोबार सन् २०२० मा कोरोना महामारीको समयमा भने ३६ प्रतिशतले घटेर ५ अर्ब ६७ करोड ४० लाख रुपैयाँमा सीमित भएको थियो ।

सन् २०२१ मा भने कम्पनीको आम्दानी बढ्न थालेको छ । अघिल्लो वर्षभन्दा सन् २०२१ मा कम्पनीले ७ प्रतिशतले नाफा बढाउँदै ६ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ । यद्यपि यो सन् २०१९ को तुलनामा अझै ३१ प्रतिशत कम हो ।

विगत ९ वर्षदेखि सिमेन्ट उत्पादन गरिरहेको कम्पनीमा त्रिवेणी ग्रुपबाट सांघाई परिवार तथा विशाल ग्रुपको लगानी छ ।

घोराही सिमेन्टले दाङको तापामा रहेको कम्पनीको चुनढुंगा खानी २० वर्षका लागि पर्याप्त भएको र हालै सिमपानीमा रहेको अर्को चुनढुंगा खानीका लागि सम्झौता गर्ने तयारीमा रहेको बताएको छ ।

सगरमाथा नाममा सिमेन्ट उत्पादन गर्ने कम्पनीले २१ जिललामा वितरण राखेको छ । कम्पनीले आगामी वर्षमा सुदुरपश्चिम क्षेत्रमा सडक, जलविद्युत्, विमानस्थल लगायतका पूर्वाधार निर्माण गर्ने तयारी गरेकाले बिक्री अझ बढ्ने बताएको छ ।

साथै, कम्पनीले सिमेन्ट निर्यातको समेत लक्ष्य राखेको छ । यसका लागि कम्पनीले क्लिङकर उत्पादनको क्षमता बढाएर प्रतिदिन ३ हजार मेट्रिक टन तथा ग्रिन्डिङ क्षमता बढाएर प्रतिदिन १४ सय मेट्रिक टन उत्पादनको लक्ष्य लिएको छ । यसका लागि सन् २०२१ देखि नै परीक्षण शुरु गरेको कम्पनीको खर्च वार्षिक ८ अर्ब ६६ करोड ५० लाख ३८ हजार रुपैयाँबाट बढेर १० अर्ब ४ करोड २० लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

हाल कम्पनीले उद्योगमा प्रयोग हुने कोइला दक्षिण अफ्रिकाबाट मगाउँदै आएको छ ।

सन् २००७ मा स्थापना भएको कम्पनीले सन् २०२१ मार्च महिनादेखि पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको थियो । हाल कम्पनीले प्रतिदिन १९०० मेट्रिक टन क्लिङर तथा २२ सय मेट्रिक टन ग्रिन्डिङ उत्पादन गर्दै आएको छ ।

कम्पनीले हालै १२ अर्ब ८७ करोड ८० लाख रुपैयाँको ऋणका लागि रेटिङ गराएको छ ।

आइपीओ ल्याउँदै
कम्पनीले हालै प्रिमियम मूल्यमा आइपीओ समेत ल्याउने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिइसकेको छ ।

कम्पनीका अनुसार स्थानीयका लागि प्रतिकित्ता ४ सय रुपैयाँ र सर्वसाधारणका लागि प्रतिकित्ता ४३५ रुपैयाँमा आइपीओ ल्याउन लागेको हो ।

कम्पनीले ७९ लाख ४३ हजार ८०१ कित्ता आइपीओ ल्याउन लागेको हो । जसमा ३लाख ९७ हजार १९० कित्ता स्थानीयका लाग र ७५ लाख ४६ हजार ६११ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।


क्लिकमान्डु