सांसद महतले भने- ‘मैले एम अधिकारी भेट्टाएँ, उहाँ गभर्नर नै हो, कारबाही गरिपाउँ’



काठमाडौं । सांसद गजेन्द्र बहादुर महतले एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले भने, ‘एम अधिकारी अरु कसैले खोजेनन्, मैले खोज्दा एम अधिकारी भनेको गभर्नर नै हुनु ।’

उनले अरु कसैले नखोजेपछि आफू एक्लैले एम अधिकारी खोजेको बताए ।

‘मैले एम अधिकारी खोजौं भन्दा प्रतिपक्षी साथीहरुलाई यमराज खोजौं भनेको जस्तो लागेछ, उहाँहरुले बमबारी र गोलाबारी पनि गर्नु भयो,’ उनले भने, ‘संसदमा सशक्त आवाज उठेपछि कसैले खोजेन, मैले रात दिन खोज्दा प्रमाण भेट्टाएँ ।’

‘एम भनेको मनी, पैसा र ढुकुटी भन्ने रहेछ र अधिकारी भनेको ढुकुटीमा अधिकार भएको व्यक्ति रहेछ, पैसामा अधिकार भएको व्यक्ति गभर्नर नै हो,’ उनले भने, ‘त्यसैले पैसामा अधिकार भएको व्यक्तिलाई एम अधिकारी भनिने रहेछ, उहाँमाथि कारबाही होस् ।’

नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्यमा एम अधिकारी भेटिएपछि उनी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको समाचार प्रकाशित भएपछि विवाद चुलिएको छ ।

यद्यपि नेकपा एमाले र गभर्नर अधिकारीले एम अधिकारी गभर्नर अधिकारी नभएको बताइसकेका छन् । तर एम अधिकारी को हो भन्ने विषयमा एमालेले तथ्य दिन सकेको छैन । हालका गभर्नर अधिकारी यसअघि नेकपा एमालेको सोही विभागमा भने सदस्य थिए ।


क्लिकमान्डु