उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित गर्ने हाम्रो एजेण्डा छः उपमेयर डंगोल



काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलसँग साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र बोर्ड सदस्य सुशील प्याकुरेलले भेटवाता गरेका छन् ।

भेटमा काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने विषयमा छलफल भएको छ ।

उपमेयर डंगोलसँगको भेटमा उनीहरुले यस विषयमा छलफल गरेका छन् । छलफलका क्रममा उपमेयर डंगोलले आफ्नो चुनावी घोषणापत्रमै महानगर भित्र रहेको यातायातलाई व्यवस्थित तथा आधुिनकीकरण गर्न नयाँ प्रविधियुक्त यातायात पद्धतिको विकास गर्ने विषयलाई समावेश गरेको भन्दै त्यस्ता सन्दर्भमा आफू सकारात्मक रहेको बताए ।

‘काठमाडौं महानगरको मात्रै होइन उपत्यकाकै यातायातलाई व्यवस्थित तथा आधुिनकीकरण गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ डंगोलले भनिन्, ‘काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने एजेण्डा काठमाडौँ महानगरपालिकाको पनि हो । साझाको यी एजेण्डामा हामी सकारात्मक छौँ र सहकार्य गर्न तयार छौँ ।’

डंगोलले यस अघि पनि महानगरपालिकाले साझासँग सहकार्य गरेको स्मरण गराउँदै पहिला भएका सम्झौतालाई समेत आधार मानेर विज्ञहरुसँग छलफल गरी थप व्यवस्थित र भरपर्दो तरिकाले अघि बढ्नु पर्नेमा जोड दिइन् ।

भेटमा दीक्षितले नेपालभरि र खासगरी राजधानी उपत्यकामा सहरी सार्वजनिक यातायात कमजोर अवस्थामा रहेको भन्दै यसको सुधारका लागि आफूहरु लागिरहेको बताए ।

‘दीक्षितले भेटमा २०७६ साल असारमा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सरकारले तीन अर्ब लगानी गरी सार्वजनिक यात्रा, जनस्वास्थ्य र अर्थतन्त्रलाई एकैपटक ठूलो परिवर्तन गर्ने योजना अघि बढाएको स्मरण गराए ।

‘विभिन्न कारणले योजना समयमा अघि बढ्न नसक्दा केही ढिला भयो,’ बोर्ड सदस्य प्याकुरेलले भने, ‘अहिले साझाले पहिलो चरणमा करीब ७० करोडमा ४० विद्युतीय बस खरिद गरेकामा तीन ओटा बस आइसकेका छन् । बाँकी ३७ बस दशैँपछि आउँदैछन् ।’ उनले सरकारले तीन वर्ष पहिले दिएको रकमबाटै विद्युतीय बस खरिद भएको भन्दै प्याकुरेलले ब्याट्रीबाट चल्ने बस नयाँ प्रविधिको भएकाले तीन चरणमा भित्र्याउने योजना बनाइएको बताए ।

पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी ८.५ मिटर लामो बस खरिद गरिएको उनले जानकारी दिए । प्याकुरेलले मर्यादित यात्रा गराउनु सबैको दायित्व भएको भन्दै उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने बढी दायित्व काठमाडौँ महानगरपालिकाको भएकाले केही दिन अघि मात्रै मेयर बालेन साहसँग र आज उपमेयर डंगोलसँग भेट गरेको बताए ।

‘काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई सहज बनाउने उदेश्यले तीन बटा विद्युतीय बस आइसकेका छन् । अब ३७ वटा बस आउँदैछन् । तर, अहिलेसम्म चार्जिङ स्टेशन कहाँ राख्ने भन्ने टुंगो छैन,’ प्याकुरेलले भने, ‘सार्वजनिक यातायातलाई मर्यादित गराउन यात्रा गर्दा टिकट लिनुपर्छ, सुरक्षित विसौनीको व्यवस्था गर्नुपर्छ भन्ने जस्ता विषय महानगरपालिकासँग बढी सम्बन्धित छन् । कानुन बनाउने कुरामा पनि महानगरपालिकाको भूमिका उल्लेख्य हुने भएकाले हामीले उहाँहरुलाई तपाईँहरुले चासो राख्नुपर्छ है भनेर ध्यानाकर्षण गराउन पनि छलफल गरेका हौँ ।’


क्लिकमान्डु