ज्योति विकास बैंकले १४औं वार्षिकोत्सवमा ल्यायो भिडियो बैंकिङ सेवा



काठमाडौं । ज्योति विकास बैंकले साउन ९ गते १४ औं वार्षिकोत्सव मनाएको छ । बैंकले कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो ।

१४ औं वार्षिकोत्सवको अवसरमा बैंकले ज्योति भिडियो बैकिङ पनि सार्वजनिक गरेको छ । यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोली, बैंक नपुगी तुरुन्तै खाता संचालन गर्न सकिने सेवा सहितको भिडियो केवाइसी सार्वजनिक गरेको हो ।

देश तथा विदेशमा रहेका नेपालीहरुले पनि अनलाइनबाट खाता खोली संचालनमा ल्याउन सक्नेछन् । कार्यक्रममा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राधा पौडेल फाउन्डेसन संग ‘मर्यादित महिनावारी’ सचेतनामा आधारित परियोजनाहरुमा सहकार्यका लागि सम्झौता गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा राधा पौडेल फाउन्डेसनकी संस्थापक राधा पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । बैंकले प्रारम्भिक चरणमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख सहयोगको प्रतिबद्धता गरेको छ । ज्योति विकास बैंकको हाल ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ।


क्लिकमान्डु