स्वयम्भुनाथ र हनुमानढोका क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्न महानगरको साथ चाहियोः मन्त्री श्रेष्ठ



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भेट गरेका छन् ।

भेटमा मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा महानगरपालिकाको सहयोग आवश्यक रहेको बताए ।

उनले पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने योजना अघि बढाइएको बताए । महानगरपालिकाले खुलापार्क निर्माण तथा सम्पदा संरक्षण र सम्वर्द्धन गरी ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउनेतर्फ अग्रसर हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा महानगरपालिकासँग सहकार्य गरिने बताए ।

काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गर्ने योजना रहेको बताउँददै मन्त्री श्रेष्ठले काठमाडौंका स्थानीय सरकारहरुको सहयोग आवश्यक रहेको बताए ।

स्थानीय साँस्कृतिक सम्पदाहरुको प्रवर्द्धनले आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन हुनुका साथै जनताको आर्थिक विकासमा टेवा पुग्ने मन्त्री श्रेष्ठले बताए । महानगर प्रमुख साहले आगामी इन्द्रजात्राको अवसरमा विदेशका विभिन्न शहरका मेयर र पाहुनाहरू काठमाडौं आउने जानकारी दिए ।

इन्द्रजात्रा व्यवस्थापनमा विभिन्न निकायबाट हुनसक्ने सहयोगबारे चासो राखेका थिए । इन्द्रजात्रालाई पर्यटन क्षेत्रको विकाससँग जोडेर अघि बढाउन विश्वका विभिन्न मुलुकका मेयरसहित पाहुनाहरुलाई सहभागी गराउने योजना बनाइएको साहले बताए ।

परम्परागत जात्रा, चाडपर्व, संस्कृति र सभ्यताले पर्यटकीय आकषर्ण बढाउने उनको भनाइ छ । मूर्त–अमूर्त सम्पदा संरक्षण–सम्वर्द्धन गरी महानगरले सांस्कृतिक सहरको पहिचानलाई जीवन्त राख्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।

भेटमा मन्त्री श्रेष्ठले महानगरले गर्ने राम्रा काममा संघीय सरकारको साथ र सहयोग रहने बताए । उनीहरुबीच काठमाडौं महानगरपालिकाले अघि बढाएको सम्पदा निर्माण–पुनर्निर्माणको अवस्थाबारे छलफल भएको थियो ।


क्लिकमान्डु