नियमित हवाई उडानबारे छलफल



पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आतबार साँझ पोखरामा भेटवार्ता भएको छ ।

उनीहरुबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध बिस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा रहेकाले भारतको बनारसलगायत विभिन्न सहरमा नियमित उडानमार्फत पोखरालाई भारतसँग जोड्ने चाहना आफूहरुको रहेको भेटपछि प्रमुख आचार्यले सञ्चारकर्मीलाई जानकारी दिए ।

भारतीय सहरमा हवाई उडान सञ्चालनका लागि नेपाल सरकार मार्फत आफूले पहल गर्ने र भारतमा वातावरण मिलाउन उनले राजदूत श्रीवास्तवलाई भेटमा आग्रह गरेका थिए ।

प्रमुख आचार्यले पोखरा र यस आसपासको विकास निर्माणमा भारतको तर्फबाट भएको सहयोगप्रति आभार प्रकट गर्दे पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी भइरहेकाले त्यसका लागि चाहिने ठूला पूर्वाधारका योजनामा भारतीय सहयोगको अपेक्षा गरेका थिए ।

सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले पोखराको मनोरम प्रकृतिको प्रशंसा गर्दै नेपाल सरकारसँग सहकार्य गर्दै पोखराको पूर्वाधार विकासमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

काठमाडौंपछि पोखरालाई महत्व दिएर नै यहाँ ‘पेन्सन क्याम्प’नै राख्नेदेखि विभिन्न परियोजनामा सहकार्य भएको राजदूत श्रीवास्तवले बताएका थिए ।-रासस


क्लिकमान्डु