विराटनगर-वथनाह मालबाहक रेल छिटै संचालनमा ल्याउने सहमति



विराटनगर । भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एस.के. चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्व संचालनमा ल्याउने बताएका छन् ।

भारतको वथनाहबाट मोरङको विराटनगरसम्म निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे संचालन पूर्व तयारीका सम्बन्धमा उद्योग संगठन मोरङले आयोजना गरेको बैठकमा उनले यस्तो बताएका हुन् ।

बैठकमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगंज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे संचालनले राहत दिने बताए ।

यस क्षेत्रबाट भइरहेको नेपाल भारतबीचको व्यापार अभिवृद्धिमा यो परियोजना कोशेढुंगा सावित हुने बताए । उनले स–साना बाधा व्यवधानलाई अविलम्व समाधान गरी मालवाहक रेल्वे संचालनमा ल्याउन भारत र नेपाल पक्षका अधिकारीलाई आग्रह गर्दै नीजि क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङ सहजीकरण गर्न तयार रहेको बताए ।

भारतीय रेल्वे, डिभिजनल रेल्वे मेनेजर एस.के.चौधरीले १८.६ किलोमिटर लम्बाई भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको जानकारी गराए ।
नेपाल र भारत सरकारबीच प्राविधिक र प्रशासनिक प्रकृया पुरा भएको १० देखि १५ दिनमा कार्गो रेल संचालनमा ल्याउन सकिने बताए । उनले जोगवनीमा रेल्वे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेल्वे मन्त्रालय समक्ष आवश्यक बजेटका लागि अनुरोध गरेको जानकारी दिँदै उक्त सेन्टरको निर्माण पश्चात अन्य स्थानका लागि नया प्यासेन्जर रेल थपिने जानकारी दिए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले दुई देशिय व्यापार विस्तारका लागि महत्वपूर्ण कार्गो रेल संचालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै नेपाल सरकारका तर्फबाट गर्नुपर्ने प्राविधिक र प्रशासनिक प्रकृयाका पुरा गर्न प्रधानमन्त्री समक्ष पहल गर्ने बताए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले निर्माणको क्रममा देखिएका वाधाहरु समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने बताए ।

विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगंज पुलका कारण आयात निर्यातमा समस्या आउदा राजस्व संकलन समेत प्रभावित भएको जनाउँदै कार्गो रेल संचालनमा ल्याउन भन्सारको सहयोग रहने बताए ।

नेपालको रेल विभागका ईन्जिनियर रोशन कुमार देवले दुवै देशका प्राविधिक टोलिले निर्माणधिन परियोजनाको प्राविधिक पक्ष परिक्षण गरी अन्य प्रशासनिक प्रकृया पुरा गरे पश्चात विराटनगर वथनाह रेल संचालनमा आउने बताउँदै त्यसको लागि तयारी भइरहेको जानकारी गराए ।

संगठनका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले यस क्षेत्रका ईडिवल आयल उत्पादन गर्ने उद्योगहरुका कच्चा पदार्थ स्टोर गर्न आफनै खर्चमा टेंक निर्माण गर्न तयार रहेको बताउदै त्यसका लागि सहजीकरण गरिदिन डिभिजनल रेल्वे मेनेजर समक्ष अनुरोध गरे ।

संगठनका पूर्व अध्यक्ष किशोर प्रधान र अशोक मुरारकाले जोगवनी रेल्वे यार्डमा पानि जम्नुका साथै नेपालको मालसमान रातीका समयमा अनलोड गर्न समस्या भइरहेको बताए ।

संगठनका पूर्व उपाध्यक्ष एव उद्योगी राकेश सुरानाले नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि यस क्षेत्रबाट जाने यात्रुहरुको संख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नया रेल थप्नुपर्नेमा जोड दिए ।


क्लिकमान्डु