सेयर बजारले गर्यो मौद्रिक नीतिको स्वागत, बजारमा उछाल



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर बजार सम्बन्धी नीतिलाई केही खुकुलो बनाएलत्तै सेयर बजारमा उछाल आएको छ । लगानीकर्ताले मौद्रिक नीतिलाई आइतबारको कारोबारले स्वागत गरेको बताउँछन् ।

मौद्रिक नीतिले सेयर धितो राखेर एक बैंकबाट लिन पाउने कर्जामा ४ करोडको सीमा हटाइएको छ । एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्मको सीमा राखिएको थियो । मौद्रिक नीतिले ४ करोडको सीमा हटाएर १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई निरन्तरता दिएको छ ।

सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ ।

यस्तै मर्जरमा वा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का हुने राष्ट्र बैंकले गर्दै आएको व्यवस्थालाई हटाएको छ । त्यो व्यवस्थालाई धितोपत्र बोर्डले आफ्नो कानून अनुसार व्यवस्था गर्ने व्यवस्था गरिएको छ ।

इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्सालका अनुसार मौद्रिक नीतिमा सेयर बजारको विषयमा केही पनि नकारात्मक कुरा नआएपछि लगानीकर्ता लगानी गर्न तम्सेको बताउँछन् ।

‘मौद्रिक नीतिमा नकारात्मक कुरा केही आएन, लगानीकर्ता बजार कस्ने नीति आउँने हो की भन्ने त्रासमा रहेका थिए’ उनले भने, ‘लगानीकर्ताले सोचेजस्तो कसिलो नभएर बजारका लागि सामान्य नीति भएका कारण लगानी बढेको हो ।’
४,१२ करोडको नीतिमा ४ हटाएर १२ करोड कायम रहेको तर त्यो पनि ब्रोकरले मार्जिन लेन्डिङ दिन थालेपछि हटाउने भनेपछि लगानीकर्ता उत्साहित दिएका छन् ।

त्यसले गर्दा बजार बढेको बताइन्छ । आइतबार बजार मापन गर्ने सूचक ६१.०५ अंकले बढेर परिसूचक २०७८.५१ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.०९ अंकले बढेर ३९८.३३ बिन्दुमा रोकिएको छ ।
यो दिन २१९ कम्पनीको ६४ लाख २३ हजार १४६ कित्ता सेयर २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको २२.८८, विकास बैंक १७७.३२, वित्त कम्पनी १७७.८३, जलविद्युत ८४.५०, जीवन बीमा २०७.७७, उत्पादन तथा प्रशोधन १००.३९, माइक्रोफाइनान्स १७५.१७, निर्जीबन बीमा समूहको उपसूचक ११७.९९ अंकले बढेको छ ।

कारोबारमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टीप्रपोज फाइनान्स, स्वाभिमान लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन धेरै रकमको कारोबार हुनेमा शिवम् सिमेन्ट रहेको छ । कम्पनीको ३९ लाख ७१ लाख ३१ हजार रुपैयाँको सेयर किनेबच भएको छ । दोस्रो र तेस्रोमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन डिस्ट्रिलरी रहेको छन् ।


क्लिकमान्डु