धौलागिरि लघुवित्तको आइपिओ आउँदै



काठाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यही साउन २४ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु तीन करोड ३१ लाख मूल्य बराबरका तीन लाख ३१ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन९आइपिओ०को बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल जारी पुँजी (१० लाख ३१ हजार कित्ता)को ०।५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख ९ हजार २९५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

सर्वसाधारणले यही साउन २९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी भदौ ७ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।


क्लिकमान्डु