अन्तर्राष्ट्रिय विमानस्थलमा ३ महिनाभित्र ड्युटी फ्रि सप शुरु गरिने, बिक्रीमा नेपाली मदिरा राखिने



काठमाडौं । पर्यटन मन्त्रालयले ३ महिनाभित्र अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि सप राखिने भएको छ ।

पर्यटन मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थानका लागि विभिन्न ७३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि सप शुरु गरिने बताएको छ ।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय प्रस्तान कक्षमा ड्युटी फ्रि सपको व्यवस्था गर्ने तथा उक्त पसलहरुमा नेपाली हस्तकला तथा नेपाली उत्पादनका लिक्विर (मदिरा) बिक्री गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

साथै आन्तरिक एवम् अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको सुविधाका लागि भेन्डिङ मेसिन राखिने छ । यसका लागि मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई जिम्मेवारी दिइएको छ भने भन्सार विभाग र पर्यटन बोर्डलाई सहयोगी निकायको रुपमा राखिएको छ ।

यसअघि डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्युटी फ्रि सप हटाइएको थियो ।
हाल नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् ।


क्लिकमान्डु