दक्षिण कोरियामा नेपाल कल्चर तथा शैक्षिक केन्द्रको उद्घाटन नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा



काठमाडौं । नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि दक्षिण कोरियाको सिओलमा नेपाल कल्चर तथा शैक्षिक केन्द्रको संञ्चालन गरिएको छ ।

केन्द्र सञ्चालनले कोरियन नागरिकहरुका लागि नेपालको संस्कृतिबारे थप बुझ्न र समग्रमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

२०२२ जुलाई २१ का दिन दक्षिण कोरियाको सिओलमा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल पर्यटन बोर्डका सदस्यहरु मदन आचार्य र ङामा निमा शेर्पा, बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र सिओलका डेपुटि मेयर लगायतले उक्त सेन्टरको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सेन्टरको उद्घाटन गर्दै मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोरियामा सांस्कृतिक तथा शैक्षिक केन्द्र उद्घाटन हुनु नेपाली र कोरियाली दुवैका लागि खुशीको विषय भएको बताउए ।

उनले यसबाट नेपालबारे जान्न चाहने कोरियन नागरिकहरुलाई सहज हुनको साथै नेपालको प्रर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।

बोर्डका सीइओ रेग्मीले कोभिड १९ पछिको नेपालको पर्यटन क्षेत्रको बारेमा जानकारी दिँदै नेपालले स्वास्थ्य सुरक्षा तथा अन्य प्राटोकलहरुको पालना गरकोले ढुक्कसँग नेपालको भ्रमण गर्न आग्रह गरे ।

कोरियाका पर्यटन व्यवसायी,कलाकार,पत्रकार तथा नागरिक समाजका प्रतिनिधि सहभागी कार्यक्रममा चर्चित कोरियाली कमेडियन किम ब्याङ म्यानलाई कोरियाका लागि नेपाली पर्यटन सद्भावाना दूत नियुक्त गरिएको थियो ।

किम सन २०१५ को भूकम्पपछि नेपालको नुवाकोटका विभिन्न स्थानमा विद्यालय पुनःनिर्माणमा सहभागी भएका थिए । सद्भावना दूत नियुक्त भएपछि किमले आफूले आफ्नो टिभी कार्यक्रममा नेपालका बारेमा सामग्री राख्ने तथा नेपालमा कोरियाली सिनेमा छायांकन गर्ने समेत बताए ।


क्लिकमान्डु