यति एयरलायन्सले ९ महिनामा गर्यो पौने ३ अर्ब आम्दानी



काठमाडौं । यति एयरलायन्सले सन् २०२२ को ९ महिनाको अवधिमा पौने ३ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा २ अर्ब ७४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीअनुसार सन् २०२२ को ९ महिनाको अवधिमा आम्दानी गरेकोमध्ये तीन वटा रुट विराटनगर, भैरहवा र पोखराको हिस्सा ६२ प्रतिशत छ ।

सन् २०२१ मा आम्दानीमा यी रुटको हिस्सा ४९ प्रतिशत थियो । कम्पनीले उक्त वर्ष १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, सन् २०२० मा २ अर्ब ६६ करोड, सन् २०१९ मा ३ अर्ब ४३ करोड र सन् २०१८ मा ३ अर्ब १३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको उल्लेख छ ।

थामसेर्कु ग्रुपद्वारा सञ्चालित सो कम्पनीले विगत २० वर्षदेखि पर्यटन क्षेत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उड्डयन, एड्भेन्चर ट्राभल, ट्रेकिङ, होटल/लज र ट्राभल एजैन्सीको काम गर्दै आएका छन् ।

आन्तरिक बजारमा २५ प्रतिशत हिस्सा रहेको कम्पनीले कोरोना महामारीका कारण दुई वर्षदेखि थलिएको एयरलायन्स कम्पनीले सन् २०२२ बाट भने गति लिएको जनाएको छ ।

त्यसैले, सन् २०२२को ९ महिनाको अवधिमा औसतमा मासिक ३० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको भनाइ छ । सन् २०१९ मा कम्पनीले मासिक औसत आम्दानी २८ करोड ६० लाख रुपैयाँ थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा २३ प्रतिशतले नाफा बढाएको छ । २०१९ मा १९ प्रतिशतले कम नाफा कमाएको थियो ।

कम्पनीले ५ वटा एटीआर ७२–५०० को विमान सञ्चालन गर्दै आएको छ ।

लक्पा सोनाम शेर्पा र आङ छिरिङ शेर्पाको शेयर रहेको कम्पनीमा लाक्पा शेर्पा अध्यक्ष छन् भने चन्दा शेर्पा प्रबन्ध निर्देशक छन् ।

इक्रा नेपालले कम्पनीलाई अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि २ अर्ब ४७ करोड रुपैयाँको रेटिङ दिएको छ । जसमा अल्पकालीन कर्जाका लागि १ अर्ब २१ करोड ९१ लाख रुपैयाँ अर्थात् एफोर र दीर्घकालीन कर्जाका लागि ८० करोड २१ लाख रुपैयाँ अर्थात् एलबी प्लसको रेटिङ दिएको छ ।

साथै, कम्पनीले अल्पकालीन कर्जाका लागि ३ करोड ८३ लाख अमेरिकी डलर रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु