ललितपुर महानगरले अब विद्युतीय सवारी साधान मात्रै खरिद गर्नेः प्रमुख महर्जन



काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गरेका छन् ।

उनले अब महानगरमा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन नहुने दाबी गरे । ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले पाँच वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ ।

बिहीबार नगर प्रहरीले आयोजना गरेको कार्यक्रममा पाँच वटा विद्युतीय बाइक सञ्चालनमा ल्याएको जानकारी गराएको छ । महानगरवासीका समस्या तत्काल समाधान गर्ने हेतुले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जनाइएको छ ।

उक्त कार्यक्रममा प्रमुख महर्जनले क्विक रेस्पोन्स टिमलाई यी बाइक महानगरभित्र तत्काल केही समस्या पर्दा उक्त क्षेत्रमा तत्काल पुग्ने गरेर खरिद गरिएको बताए । उनले सानो कुराले पनि ठूलो परिवर्तन गर्ने र महत्व राख्ने भएकोले सानो काम भएपनि महत्वपूर्ण काम गरेको उल्लेख गरे ।

पाटन शहर २४ सैं घण्टा सुत्दैन भन्ने अवधारणा अघि बढाएर लैजाँदा सुरक्षाको महत्व पनि त्यत्तिकै हुने भएकोले सिसिटिभी जडानको काम भइरहेको बताए ।

प्रमुख महर्जनले महानगरपालिकाले अब अत्याधुनिक दमकल खरिद गर्ने काम भइरहेको बताए । उनले पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्डविपरीत राखिएका अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड हटाउन र कारबाही गर्न स्कुटरसहित टोली परिचालित हुनेपनि बताए ।


क्लिकमान्डु