आर्थिक वर्ष २०७८/७९ कुन बैंकले कति बिजनेश गरे ?



काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको व्यवसाय विस्तार औसतमा राम्रो देखिएको छ ।

गत आवमा सञ्चालनमा रहेका वाणिज्य बैंकको व्यवसाय ३ खर्ब ४० अर्ब ५ करोड रुपैयाँले बिस्तार भएको छ ।

गत असारमा ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ रहेको निक्षेप असार मसान्तसम्म आइपुग्दा ३ खर्ब ४० अर्ब ५ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

यो एक वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक ग्रोथ गर्नेमा नबिल बैंक छ ।

एक वर्षमा निक्षेप संकलन मात्रै नभएर कर्जा लगानीमा पनि नबिल बैंक नै अघि देखिएको छ । एक वर्षको तथ्याङकलाई हेर्दा नबिल बैंकले १ खर्ब १ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन बढाएको छ ।

अघिल्लो असार मसान्तसम्म बैंकले २ खर्ब २८ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । एक वर्षको अवधिमा बैंकले निक्षेप १ खर्ब १ अर्ब ५६ करोड रुपैयाँले बढाएको छ ।

असार मसान्तसम्म आइपुग्दा नबिल बैंकले ३ खर्ब २९ अबर्क ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । तीन खर्ब भन्दा बढी निक्षेप संकलन गर्नेमा नबिल मात्रै रहेको छ ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको छ । प्राप्ति पश्चात एकिकृत कारोबार समेत सुरु भइसकेको छ । बंगलादेश बैंकले संकलन गरेको निक्षेप जोडदा यो रकम बढ्ने देखिन्छ । व्यवसाय विस्तारमा आक्रामक रुपमा प्रस्तुत भएको नबिल बैंक निक्षेप संकलनमा मात्रै नभएर कर्जा प्रवाहमा पनि पहिलो नै देखिएको छ ।

यो अवधिमा बैंकले १ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी बढाएर ३ खर्ब ९ अर्ब ६ करोड रुपैयाँ पुर्याएको छ । गत असार मसान्तमा २ खर्ब ५ अर्ब ६५ करोड रुपैयाँ थियो ।

एक वर्षको अवधिमा ३ खर्ब ३४ अर्ब ५ करोड निक्षेप संकलन गर्दा धेरै निक्षेप बढाउने दोस्रो बैंकमा नेपाल बैंक छ । एक वर्षको अवधिमा ३३ अर्ब ५६ करोड निक्षेप ग्रोथ गरेको छ ।

असार मसान्तमा आइपुग्दा निक्षेप ग्रोथ १ खर्ब ९७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकले एक वर्षमा ३५ अर्ब ८७ करोड रुपैयाँ कर्जा बिस्तार गरेको छ ।

एक वर्षको अवधिमा धेरै निक्षेप संकलन गर्ने तेस्रो बैंकमा एनसीसी बैंक रहेको छ । यो अवधिमा बैकले निक्षेप ग्रोथ आक्रामक रुपमा गरेको छ ।

एक वर्षमा बैंकले निक्षेप ३० अर्ब ७१ करोड रुपैयाँले बढाएको छ । कर्जा लगानी भने २७ अर्ब २ करोड रुपैयाँले बढेको छ ।

गत आवको आक्रमक रुपमा व्यवसाय बिस्तार गर्नेमा सानिमा बैंक पनि रहेको छ । सानिमा बैंकले यो अवधिमा २८ अर्ब रुपैयाँ निक्षेप बढाएको छ ।

गत असार मसान्तमा १ खर्ब ३० अर्ब ८८ करोड रुपैयाँ निक्षेप रहेकोमा एक वर्षमा निक्षेप २८ अर्बले बढेर १ खर्ब ५८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । गत आवमा कम बिजनेश ग्रोथ गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ ।

बैंकको निक्षेप ३ अर्ब २२ करोड रुपैयाँले मात्रै बढेको छ । बैंकको निक्षेप एक वर्षमा ३ अर्ब २२ करोडले बढेर २ खर्ब ८६ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा २ खर्ब ८३ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकले कर्जा लगानी भने २९ अर्ब ७१ करोड रुपैयाँले बढाएको तथ्याङकले देखाएको छ ।

दुई बैंकको व्यवसाय खुम्चियो

गत आवमा एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकको निक्षेपमा संकुचन आएको छ । एनआईसी एशिया बैंकको निक्षेप ५ अर्ब २७ करोड रुपैयाँले घटेर २ खर्ब ९४ अर्ब ९८ करोडमा सिमिति भएको छ ।

गत असार मसान्तमा ३ खर्ब २५ करोड रुपैयाँ रहेको छ । तर कर्जा भने ३ अर्ब ४० करोड रुपैयाँले बढेको छ ।

गत असार मसान्तमा २ खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा यो असार मसान्तसम्म आइपुग्दा ३ अर्ब ४० करोड रुपैयाँले बढेर २ खर्ब ६८ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन ७ अर्ब ४६ करोडले घटेर २ खर्ब ५६ अर्ब ६४ करोडमा सिमिति भएको छ । गत असार मसान्तमा २ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ थियो ।

यस अवधिमा बैंकले प्रवाह गर्ने कर्जा भने २८ अर्ब ८९ करोड रुपैयाँले बढेर २ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा कर्जा भने कुनै बैंकको पनि घटेको छैन ।


क्लिकमान्डु